आज्ञा सम्वाददाता
बर्दिबास ः
ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले एक जना हबल्दार(प्रहरी) हुँ भन्दै गरगहना चोरी गर्नेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला महोत्तरी वर्दिवास नगरपालिका १ बस्ने बर्ष ३४ का मनोज ठाकुर रहेका छन । हिजो ईलाका प्रहरी कार्यालय बर्दिवास बाट खटिएको टोलीले ठाकुरको घरको कोठा खानतलासी गर्दा उनले लुकाई राखेको चाँदीको गरगहना १२ किलो ८८१ ग्राम बरामद गरेको ईलाका प्रहरी कार्यालयको प्रहरी निरिक्षक बालिस्टर सिंहको जानकारी दिए ।
उनका अनुसार झापा जिल्लाको दमक नगरपालिका १ स्थित पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सको प्रोप्राईटर मन प्रसाद गदाईलीले चैत ८ गते का दिन बर्दिवास स्थित सुनचाँदी पसलहरुले दिएको अर्डरको गरगहना पठाईएको थियो । बिभिन्न चाँदीको गरगहनाहरु तौल १३ के.जी. बराबरको कागजात सहित ज्वेलर्समा काम गर्ने भारत आसाम घर भएका ओम कालिकोटेले बर्दिवासमा हायस गाडीमा पठाएका थिए ।
जिल्ला मोरङ बेलबारी नगरपालिका ४ बेतना सिमसार क्षेत्र अगाडीको बाटोमा एकजना अपरिचित पुरुष मानिसले गाडी रोकी म प्रहरीको हबल्दार हुँ, यो गाडी चेकजाँच गर्नु छ भनि गाडीमा राखिएको गहानाको झोला लिएर फरार भएका ठाकुरलाई ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी र ईलाका प्रहरी कार्यालय बेलबारी मोरंङको सयुक्त प्रहरी टोलीले पक्राउ गरेको निरिक्षक सिंहले बताए ।
प्रहरीले घटनामा संलग्नहरुलाई अनुसन्धानका लागि प्रहरी कार्यालय बेलबारी मोरंङ पठाएको जनाएको छ।