विदेशी फिल्मको प्रभुत्वले नेपाली फिल्म निर्मातालाई बनाउन थाल्यो चिन्तित

[sharethis-inline-buttons]

काठमाडौं –

नेपाली बक्स अफिसमा विदेशी फिल्मको दबदबा बढेको छ । हप्तैपिच्छे बलिउड, हलिउड र दक्षिण भारतीय फिल्म रिलिज भइरहेका छन् ।ठूलो लगानीमा निर्माण भएका विदेशी फिल्मसामु कम बजेटका नेपाली फिल्म जुध्नु पक्कै राम्रो होइन । विदेशी फिल्मको प्रभुत्वले नेपाली फिल्म निर्मातालाई चिन्तित बनाएको महसुस हुन थालेको छ ।

 

बिहीबार बेलुका ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो चिन्ता पोखियो । निर्देशक तथा अभिनेत्री झरना थापा, निर्माता सुनिलकुमार थापा, भुवन केसीदेखि अनमोलसम्मले विदेशी फिल्मको दबदबा बढ्दा नेपाली फिल्मलाई चिन्ता थपेको बताए ।
उनीहरुको प्रमुख चिन्ता चाहिं ठूला विदेशी फिल्मसामु सानो बजेटका नेपाली फिल्म जुधेर हुने क्षतिप्रति सरकार गम्भीर नभएको भन्नेतर्फ हो । उनीहरुको यस्तो चिन्तामा एकैसाथ आक्रोश, निराशा र अन्योल देखिएको थियो ।

निर्देशक झरना थापाले यस्तो समयमा नेपाली फिल्मका निर्माता एकजुट हुनुपर्ने बताइन् । ‘हामीले बनाएको फिल्मले मन छुन्छ भने सबै प्रमोट गरिदिनुपर्यो । नराम्रो छ भने नराम्रो भन्दिनुहोला । यतिबेला हामीबीच एकताको आवश्यकता छ,’ उनले भनिन् ।अनमोलले पनि वैशाख १ गतेको बक्स अफिस भिडन्तलाई नेपाल र भारतबीचको फुटबल खेलसँग तुलना गर्दै नेपालको जित हुने बताए । अभिनेत्री सुहाना थापाले दर्शकको साथको अपेक्षा गरिन् ।