खयरमारामा पहिरो जादा, २०० घरधुरीका बासिन्दा त्रासमा

[sharethis-inline-buttons]

बर्दिवास-

महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबास नगरपालिकाको वडा नं १० खयरमारामा  पहिरो जाँदा २०० घरधुरीका परिवारमा त्रास भएको छ।स्थानीयबासी इसारा लामाका अनुसार खयरमाराको चुरे पहाडमा गए राति बस्ती नजिकै तीनतले स्थानबाट पहिरो गएकाले अहिले त्यहाँका बासिन्दा त्रस्त भएका छन्।

मध्यरातसम्म साना– साना पहिरो झरे पनि आज बिहान २ बजेदेखि ठूला–ठूला र अहिले दिउँसोसम्ममा भीषण पहिरो झरेका कारण वरपरका २०० घरधुरी बासिन्दामा त्रास बढेको हो।तीनतलेबाट झरेको पहिरोले खयरमाराको खोला पुरेपछि अहिले छोड्के, पिपलदमा, गुरुङखोला, चनौटे, गर्दीखोला, भाङ्गरे झ्याउरे र खयरमाराको मुख्य बजार नै जोखिममा परेको स्थानीयवासीले बताएका छन्।

खयरमाराको भित्री बस्तीमा सडक सञ्जाल नहुँदा स्थानीयवासी खोलाबाटै आवतजावत गर्दै आएकामा अहिले पहिराले खोला पुरेपछि खयरमाराबाट बर्दिबास आवतजावत गर्ने बाटो पनि बन्द भएको छ।वर्षायाम लाग्नुभन्दा तीनरचार महिना पहिले नै गएको बेमौसमी पहिराले त्रस्त बनेका स्थानीयवासी वर्षायाम लागेपछि हुने थप पहिराको पीडालाई अनुमान गर्दै चिन्तित भएका छन्।

वातावरण क्षेत्रमा काम गर्दै आएका बर्दिबासका नागदेव यादवले विगत एक सातादेखि तराई मधेसमा एक्कासी बढेको अत्यधिक तापक्रमले चुरे पहाडमा रहेको खुकुलो चट्टानमा तातो र चिसोको सन्तुलन मिल्न नसक्दा पहिरो गएको बताए। उनले थप पहिरो जान सक्ने भएकाले त्यस क्षेत्रका बस्ती जोखिममा रहेको पनि औँल्याए।