एमाले ‘जित्ने’ अभियानमा

[sharethis-inline-buttons]

काठमाडौँ —

स्थानीय तह निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको एमालेले ‘जित्न सक्ने’ व्यक्तिलाई टिकटमा प्राथमिकता दिने भएको छ । सामान्यतया कम्युनिस्ट पार्टीमा व्यक्तिको योगदानलाई हेरेर मूल्यांकन गर्ने परम्परा भए पनि आसन्न निर्वाचनमा एमाले सम्भावित नतिजा हेरेर टिकट वितरण गर्ने रणनीतिमा लागेको हो ।

केन्द्रीय कमिटी बैठकमा बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा परिणाम दिन सक्ने व्यक्तिलाई टिकटमा प्राथमिकता दिने स्पष्ट पारेका छन् । ‘पार्टीमा मूल्यांकन सामान्यतया दुईवटा कुरालाई आधार बनाएर हुन्छ, पहिलो– इतिहासमा व्यक्तिले गरेको योगदान, निजको निष्ठा र त्याग, दोस्रो– परिभाषित काम र तोकिएको दायित्व पूरा गर्न सक्ने क्षमता, सक्रियता र त्यसको नतिजा,’ ओलीले बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘कमरेडहरूको इतिहास, निष्ठा र त्यागलाई कसैले उपेक्षा गर्न सक्दैन

तर आज हामीलाई परिणाम चाहिएको छ । वर्तमान कार्यभार पूरा गर्न सक्ने सक्रियता, योग्यता र दक्षता चाहिएको छ ।’ एमालेका एक पदाधिकारीका अनुसार ओलीको प्रतिवेदनमा चुनाव ‘जित्न सक्ने’ व्यक्तिलाई प्राथमिकतामा राखिएकामा असन्तुष्टि देखिएको छ ।

‘पार्टीमा योगदान दिइरहेकाभन्दा नवप्रवेशी प्राथमिकतामा पर्ने देखिन्छ,’ ती पदाधिकारीले भने, ‘ती मान्छे को हुन्, कस्ता हुन्, समाजमा तिनको प्रभाव कस्तो छ, विचार के हो भन्ने प्राथमिकतामा छैन । चुनावको मुखमा पार्टी परिवर्तन गर्ने मान्छेले देश र जनताका लागि योगदान गर्छु भनेर आउने त होइन । व्यक्तिगत फाइदा लिन आउने हो । फाइदा ठूला पार्टीबाट लिन सकिने भयो । अध्यक्षको प्राथमिकतामा पनि त्यस्तै मान्छे छन् ।’