काठमाडौं-
नेपालमा क्षयरोगको संस्थागत रुपमा उपचार हुन थालेको ८ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा रोकथामका लागि विभिन्न मोडल प्रयोग भए । कहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार (डट्स) त कहिले स्टव टिबी रणनीति बनाएर काम भयो । तर, क्षयरोगको रोकथाम र निवारण हुन सकेन ।
२०७५ सालसम्म नेपालमा ४५ हजार क्षयरोगी रहेको अनुमानको आधारमा कार्यक्रमहरु सञ्चालन गरिए । तर, ०७४/७५ को पि्रब्यालेन्स सर्वेक्षणले प्रति वर्ष ६९ हजार नयाँ बिरामी थपिने देखायो । पुराना समेत गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको त्यसबाट अनुमान भयो ।
आर्थिक वर्ष ०७७/७८ मा क्षयरोगका २८ हजार ६७७बिरामी उपचारका लागि अस्पतालहरु आएको तथ्यांक छ । बाँकी बिरामी कहाँ-कहाँ छन् भन्ने थाहा नै भएन ।
नेपालमा मृत्युको १० प्रमुख कारकमध्ये क्षयरोग सातौंमा छ । ६ महिनादेखि ९ महिनासम्म नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुन्छ । सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको छ, तर बिरामी संख्या घटेको छैन । क्षयरोगका बिरामी पत्ता लगाई उपचारको दायरामा ल्याउनु नै प्रमुख चुनौती रहेको विज्ञहरु बताउँछन् ।