आज्ञा सम्वाददाता
जनकपुरधाम
मधेस प्रदेशसभाको बैठक चौथोपटक पुनः स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश आजका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिईएका छन्।
मधेस प्रदेशसभाका अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो । फागुन १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण, फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका कारण, फागुन २२ गते नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेस प्रदेशको भ्रमणका कारण बैठक स्थगित गरिएको थियो ।