प्रचण्डले भने, ‘यो निर्वाचन हाम्रो लागि निर्वाचन मात्र होइन्, ठुलो लडाई हो’

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुरधाम
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अगामी स्थानीय तहको निर्वाचनलाई निर्वाचन मात्र नभई ठूलो लडाइँको रुपमा लिन नेताकार्यकर्तालाई आग्रह गरेका छन ।मंगलबार जनकपुरधाममा मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेताकार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले यसका लागि योद्धा जस्तै चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले भने, ‘अगामी निर्वाचन अन्य दलको लागि निर्वाचन हो । हाम्रो लागि लडाइँ हो । लडाइँकै हिसाबले तयारी गर्नुस् । गठबन्धन गरिदिन्छ र चुनाव जितौंला भन्ने मानसिकता बदल्नुस् । पुरै शक्ति लगाएर एकलै कसरी चुनाव जित्ने तिर होमिनुस् ।’
एकलै चुनाव जित्ने तयारी गर्नलाई गठबन्धन विरोधी हो भनेर नबुझ्न पनि उनले आग्रह गरे ।

अध्यक्ष प्रचण्डले माओवादी हारे देश नै हार्ने बताए । उनले एमालेप्रति लक्षि गर्दै प्रतिक्रियावादी र अन्तराष्ट्रिय शक्तिहरु माओवादीलाई सिध्याउने हिँसाबले षड्यन्त्र गरिरहेको दावी गरे ।

‘माओवादीले लडेर नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्न सम्भव भएको हो । समानुपातिक, समावेशीता लागु भएको हो । यस विरुद्ध प्रतिक्रन्तिकारी शक्ति र विदेशी शक्तिहरु एकजुट भएर उल्टाउन खोज्दैछन् । माओवादीलाई जसरी पनि सिद्ध्याउने रणनीति बनाएका छन्’ उनले अगाडी भने, ‘त्यस कारण प्राप्त उपलब्धिहरुको रक्षा गर्न माओवादी जित्नै पर्छ । माआवादी हारे देश हार्छ, सहिदको सपना हार्छ, संघीय लोकतान्त्रिक गणतन्त्र हार्छ ।’

कार्यक्रममा माओवादीका मधेशका आठवटै जिल्लाबाट अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।