काठमाडौं –
छैटौं राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिताका भाग लिने कलाकारले चैत १४ गतेसम्म आवेदन दिनुपर्ने भएको छ । प्रतियोगिता यही चैत १६ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।कोरोना महामारीका कारण दुई वर्ष रोकिएको प्रतियोगिता यस वर्ष भौतिक उपस्थितिमै आयोजना गर्न लागेको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले बताए ।
‘कोरोना महामारीपछि प्रतियोगिता आयोजना हुने कुराले गायक साथीहरु उत्साहित हुनुहुन्छ,’ बीजीले भने ।प्रतियोगितामा पहिलो हुनेलाई २ लाख २५ हजार, दोस्रो हुनेलाई १ लाख ५० हजार, तेस्रो हुनेलाई १ लाख र सान्त्वनालाई ५० हजार रुपैयाँसहित शिल्ड र मेडल दिइने छ ।
प्रत्येक समूहमा दुई पुरुष र दुई महिलासहित उत्कृष्ट भेषभूषालाई समेत पुरस्कृत गरिने भएको छ । अध्यक्ष बीजीका अनुसार कुल ५० समूहले प्रतियोगितामा भाग लिने भएका छन् ।प्रतियोगिताको उद्घाटन समारोहमा फिल्म तथा हास्य क्षेत्रका कलाकारले पनि प्रस्तुति दिने जनाइएको छ ।