मुगुको जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी १४, कार्यालय सहयोगी २५

[sharethis-inline-buttons]

मुगु —

जिल्ला अस्पताल मुगुमा कार्यालय सहयोगीको संख्या स्वास्थ्यकर्मीभन्दा धेरै छ । अस्पतालमा चिकित्सकसहित १४ स्वास्थ्यकर्मी कार्यरत छन् भने कार्यालय सहयोगीको संख्या २५ छ । अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले हचुवाको भरमा कार्यालय सहयोगी भर्ना गरका हुन् । २०६३ सालमा स्थापित जिल्ला अस्पताल संघीय व्यवस्था लागू भएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमातहत गाभिएको छ । अस्पतालमा अहिलेसम्म केशर शाही र पारसमणि मल्ल गरी २ जनाको कार्यकाल पूरा भएको छ ।

समितिका पूर्वअध्यक्ष शाहीका पालामा १७ र मल्लको पालामा ८ कार्यालय सहयोगी भर्ना गरिएको थियो । डेढ वर्षयता भने समिति अध्यक्ष नियुक्ति हुन सकेका छैनन् । दैनिक सय जनासम्म बिरामी आउने गरको अस्पतालमा १ विशेषज्ञ चिकित्सकसहित ६ चिकित्सक तथा अन्य अहेव र अनमी छन् । तर स्वास्थ्यकर्मी अभावले २/३ वटा विभाग, प्रयोगशाला, फार्मेसी लगायतमा एउटै स्वास्थ्यकर्मी खटिनुपर्ने बाध्यता छ । ‘उपचार गर्ने कम भए, सहयोगी धेर,’ जिल्ला स्वास्थ्य व्यवस्थापक उमेश गौतमले भने, ‘३ स्वास्थ्यकर्मीलाई १ सहयोगी भए पनि पुग्थ्यो ।’

२५ जना सहयोगी भए पनि कार्यालयमा खानेपानी र शौचालयको व्यवस्थापन राम्रो छैन । ‘बाहिरैबाट शौचालय गन्हाउँछ,’ स्थानीय कमला मल्लले भनिन्, ‘न सहयोगीले बिरामीलाई सहयोग गर्छन्, बिरामीले घरबाटै पानी बोकेर लैजानुपर्ने बाध्यता छ ।’ अस्पतालका अनुसार सहयोगीलाई जिल्ला अस्पताल व्यवस्थापन समितिको आन्तरिक स्रोतबाट तलब भत्ता दिने गरिएको छ ।

अस्पतालमा नर्सिङ स्टाफ नहुँदा उपचारमा समस्या भएको गौतमले बताए । उनका अनुसार नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । ‘१५ शय्याको अस्पतालमा कम्तीमा १० जना नर्सिङ स्टाफ हुनुपर्ने हो,’ उनले भने, ‘तर ५ जनाले भ्याइरहेका छन्, कुनै दिन चौबिसै घण्टासम्म ड्युटी गर्नुपरेको छ ।’ उनले स्वास्थ्यकर्मीको व्यवस्था गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग पटकपटक आग्रह गरिए पनि बेवास्ता भइरहेको गुनासो गरे ।