रौतहटमा होली मनाउने क्रममा झडप २ राउण्ड गोली चल्यो, तीन एम्बुलेन्समा क्षति

[sharethis-inline-buttons]

आज्ञा सक्वाददाता
रौतहत
होली मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ । शुक्रबार राति रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा भएको झडपमा दुई राउण्ड हवाई फायर भएको प्रहरीले जनाएको छ । गोली कसले चलायो भन्ने बिषय खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको छ । होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कटहरिया–९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबीच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो चोट लागेको छ । उनीहरुलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी जयसवाल पक्षका घाइते जटाशंकर साहको गरुडास्थित एउटा नीजि अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले वडा अध्यक्ष रामाज्ञा यादव सहित ५ जना लाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाएको छ ।