आज्ञा सम्वाददाता
काठमाडौ
निर्वाचन आयोगले आगामी बैशाख ३० गत्ते हुँन लागेको स्थानीय चुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आायोगले निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम शुक्रबार स्वीकृत भएको जनाएको छ । चुनावसँग सम्बन्धित सम्पूर्ण काम निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।
आयोगको निर्वाचन कार्यतालिकामा ११ र १२ वैशाखमा उम्मेदवारको मनोनयनपत्र दर्ता, १२ वैशाखमै मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने तय भएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय छ ।
यसैगरी, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १५ वैशाखमा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम स्वीकृत भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
यसैगरी, १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । चुनावसँग सम्बन्धित सम्पूर्ण काम निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।
आयोगले जिल्ला तथा वडाबाट त्रुटि सच्याएर आयोगमा आएको अन्तिम मतदाता नामावलीलाई जाँच गरी संशोधनसहितको अन्तिम मतदाता नामावली र मुख्य निर्वाचन अधिकृतको अन्तिम नामावली १३ चैतमा सार्वजनिक गर्ने गरी तयारी गरेको छ । त्यसैगरी, आयोगले कर्मचारी सरुवा तथा पदस्थापन १५ चैतअगावै गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।
बिहीबार मात्र आयोगले तयार पारेको निर्वाचन आचारसंहिता, २०७८ राजपत्रमा प्रकाशित भएको थियो । आयोगले १५ चैतदेखि निर्वाचन आचारसंहिता लागू गर्ने गरी तयार गरिरहेको छ । आचारसंहितामा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले पेस्की र बेरुजु फस्र्योट गर्नुपर्ने र मनोनयनअगाडि राजीनामा दिनुपर्नेलगायत विषय छन ।