सर्लाही,चैत ४ गते ।सर्लाहीमा जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ । सर्लाहीको २० वटै पालिकामा होली आउनु पूर्व नै केही दिन अघि देखि वयस्क तथा बुढापाकाहरू रातिको समयमा डम्फु बजाएर जोगिरा गीत गाउने गर्दथे तर अहिले जोगिरा गीत नै हराउने अवस्था आएको चन्द्रनगर गाउँपालिकाका स्थानीय रमेश यादव बताउनु हुन्छ ।
होलीको बिहानीपख जोगिरा गाउँदै फराकिलो ठाउँमा होलिका दहन तामझामका साथ हुने गर्दथ्यो तर हाल आएर सामान्य आधुनिक शैलीमा मात्र हुने गरेको यादवले बताउनुभयो । जोगिरा गीत भन्दा भोजपुरी होली गीतको प्रचलन बढेको छ, युवाहरू डिजे साउण्ड नै प्रयोग गरी नाच्ने गरेका छन्, जोगिरा गीत सिक्ने युवाहरूमा इच्छा नै नरहेको स्थानीय शिवचन्द्र महतोले बताउनुभयो ।
वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत भन्दा भोजपुरी गीतको प्रचलन बढेकोले दुख लागेको स्थानीय महतोको भनाई छ । होली पर्वमा तराईका बस्तीमा गवैया (गायक) हरुले ढोलक, मृदङ्ग, झ्याली, हारमुनियम जस्ता बाजाको प्रयोग गरी जोगिरा गीत गराउने प्रचलन छ । जोगिरा र होलीका गीतका कारण तराईका हरेक गाउँको वातावरणमा बेग्लै किसिमको रौनक छाएको हुन्थ्यो
ती गीतहरू हिजोआज लोप हुने अवस्थामा पुगेको संस्कृतिका जानकार उदय चौधरीले बताउनुभयो । पुराना जोगिरा गवैयाहरूको मृत्यु भइसकेको र कतिपय बुढ्यौलीका कारण थला परेपछि जोगिराको संरक्षणमा चुनौती थपिएको छ ।
साभार द पब्लीक टुडे: