काठमाडौं-
अभिनेता पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो ।जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो ।
नवलपरासी पूर्वको एक रिसोर्टमा ७ चैत २०७७ मा आफूमाथि बलात्कार भएको दावी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा छन् । तनहुँमा भने प्रहरी अनुसन्धानकै क्रममा छ । अदालतमा मुद्दा परिसकेको छैन ।
कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।
किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । र १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् ।