काठमाडौँ —
सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । नेपाल प्रहरीले माग गरेभन्दा १८ हजार कम गरेर एक लाख मात्रै भर्ना आवेदन खुलाइएको हो । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार २ सय ३१ म्यादी भर्ना गर्न प्रस्ताव गरेको थियो । तर, अर्थबाट स्वीकृत दरबन्दीअनुसार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइने गरी प्रहरी प्रधान कार्यालयले भर्ना खुलाएको हो ।
चैत ६ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ । म्यादीको कार्यावधि ४० दिन तोकिएको छ ।उपत्यकास्थित महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुर परिसरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा बिहान १० देखि अपराह्न ५ बजेसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीका लागि आवेदन दिन सक्ने मापदण्ड बनाइएको छ ।
आवेदन दिने व्यक्ति कुनै पनि नैतिक पतन देखिने फौजदारी कसुर नठहरिएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने, आँखाको दृष्टि माइनस वा प्लस २ भन्दा कमजोर नभएको, उचाइ पुरुषको ५ फिट २ इन्च र ५० केजी तौल, महिलाको हकमा ५ फिट उचाइ र तौल कम्तीमा ४२ केजी हुनुपर्ने सर्त राखिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान/निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायमा काम गरी निवृत्तिभरणमा निस्किएका र विगतका निर्वाचनमा म्यादी भर्ना भएकालाई भर्नाका लागि प्राथमिकता दिइने म्यादी प्रहरी भर्ना छनोट कार्यविधिमा उल्लेख छ । यस्तै, २०७८ साउनदेखि सेना, प्रहरी र सशस्त्रमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेस गर्नेलाई पनि म्यादी भर्नामा प्राथमिकता दिइनेछ ।
तर, विगतका चुनावमा गरिएका म्यादी भर्नामा पूर्वसुरक्षाकर्मीहरूको उपस्थिति निकै कम देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विगतमा १ प्रतिशतभन्दा कम मात्रामा पूर्वसुरक्षाकर्मी म्यादीमा भर्ती भएका थिए ।चैत १५ देखि छनोट प्रक्रिया अघि बढाएर २२ गते अन्तिम नतिजा प्रकाशित गरिने तालिका छ । छनोट भएका जनशक्तिलाई चैत २८ बाट प्रशिक्षण दिइनेछ । म्यादीको कार्यावधि अधिकतम ४० दिनको हुने मापदण्ड बनाइएको छ । एक जना जवानले मासिक आधारभूत पारिश्रमिक २२ हजार ६ सय ६० पाउँछन् ।
यो स्केलअनुसार ४० दिनका लागि एक जना म्यादीले ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक पाउने छन् । त्यस्तै ४० दिनका लागि रासन भत्ताबापत एकमुष्ट ७ हजार २ सय र उच्च हिमाली जिल्लाको हकमा जिल्ला दररेट निर्धारण समितिले तोकेको स्केलका आधारमा रासन भत्ता दिइनेछ । पोसाक भत्ताबापत एकमुष्ट ६ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।
सरकारले तोकेको यो आँकडाअनुसार १ लाख म्यादीका लागि पारिश्रमिकबापत ३ अर्बभन्दा बढी बजेट खर्च हुनेछ ।त्यस्तै पोसाक भत्ताबापत ६० करोड, रासन भत्ताबापत ७२ करोड छुट्याइएको छ । सबै शीर्षकमा म्यादीका लागि मात्रै ४ अर्ब ४४ करोड ४० लाख रुपैयाँ खर्च हुने देखिएको छ ।कान्तिपुर