जनकपुर-जयनगर रेल उद्घाटन अनिश्चित

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुरधाम
यात्रुविना एक महिनादेखि जनकपुर–जयनगर रेल ‘ड्रायरन’ गरिरहेको छ । दिनमा एकपटक जयनगरबाट कुर्थासम्म यात्रुविना रेल ओहोरदोहोर गरिरहेको छ । गत फागुन १ गतेदेखि उद्घाटन नहुँदै ‘ड्रायरन’ सुरु गरिएको थियो ।

‘ड्रायरन’ सफल भएपनि उद्घाटन मिति अझै टुङ्गो लाग्न नसकेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । उनकाअनुसार कानुन अभावमा उद्घाटन तथा यात्रुसहित सञ्चालनको मिति तय हुन सकेको छैन । गत मंसिर १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेलवे सञ्चालनसम्बन्धी अध्यादेशको प्रस्ताव ल्याएकी थिइन् । ६० दिनभित्र अध्यादेश सम्बन्धित मन्त्रीले सदनमा पेस गरिसक्नु पर्ने कानुनी प्रावधान छ । तर, सो अवधिमा सदनमा रेलवे अध्यादेश पेस नभएपछि स्वतः निष्क्रिय भएको थियो ।
“प्राविधिक तयारी कर्मचारी नियुक्ति भएर र भाडादर निर्धारण भइसक्दा समेत अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको छैन ।”

विभागले फागुन दोस्रो साता नै दुवै देशको प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी गरेको थियो । तर कानुन अभावसँगै नेपालको राजनीतिक उतारचढाव र भारतको चुनावको कारण उद्घाटनमा ढिलाइ भएको उनको तर्क छ ।

आम्दानी शून्य, खर्च ३० लाख बढी
एक महिनाको अवधिमा करिव ३० लाख जति खर्च भएको महाप्रबन्धक झाको अनुमान छ । अहिलेसम्म कुनै पनि कामको भुकुतानी नभएकाले यकिन लागत खर्च भन्न नसकिने उनले बताए । उनकाअनुसार प्रति दिन १२५ लिटर तेल खर्च भइरहेको छ । त्यो हिसाबले २५ सय देखि तीन हजार लिटरसम्म तेल एक महिनामा खर्च भएको छ भने कार्यालय व्यवस्थापन र कर्मचारीमा बढी खर्च भएको छ ।

अहिले रेल्वेमा ५८ नेपाली र १६ जना भारतीय कर्मचारी खटिरहेका छन् । कर्मचारी खर्च नै २० लाख भन्दा बढी रहेको छ । रेलले खर्च धान्न नसकेर आजदेखि एक दिन बिराएर महिनामा १५ दिन मात्रै रेल चलाउने विभागको तयारी छ ।