सर्लाहीमा विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन निर्माण सबस्टेसनको उद्घाटन

[sharethis-inline-buttons]

आज्ञा संबाददाता
सर्लाही

सर्लाहीको लालबन्दीमा विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत उपलब्ध गराउन सबस्टेसन निर्माण गरिएको हो । निर्माण भएको १३२/३३ केभी सबस्टेसनको उद्घाटन भएको छ ।सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको सबस्टेसनको मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।

सबस्टेशन उद्घाटन भएपछि आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत खपत बढाउन मन्त्री भुसालले आग्रह गरिन् ।उनले तराई तथा मधेस क्षेत्रमा सिँचाइमा विद्युत खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइको विद्युत महसुल घटाएको उल्लेख गर्दै भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरणहरू विस्थापित गर्न आग्रह गरिन्।

उनले सबस्टेसन सञ्चालनमा आएसँगै यस क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति भई औद्योगिकरणमा सहयोग पुग्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गरे।त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेश प्रदेशको विद्युत आपूर्ति सुधार गर्न अहिले सबैभन्दा बढी लगानी भइरहेको बताए । उनले प्राधिकरणले आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, औद्योगिक, खानेपानीलगायत आम घरायसी ग्राहकलाई महसुलमा सहुलियत दिएको बताए।

घिसिङले मधेश प्रदेशमा विद्युत चुहावट बढी नै हुने गरेकोले चुहावट नियन्त्रणमा सहयोग गरिदिन सबैलाई आग्रह गरे ।पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ। यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत आपूर्ति दिइएको छ। सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुईवटा ट्रान्सफर्मर राखिएको छ।