विश्वकप लिग टु : यूएईमा नेपालको परीक्षा

[sharethis-inline-buttons]

काठमाडौं –

यूएईसँग पराजित भएपछि नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट हुन सकेन । अब फेरि नेपालले यूएईसँग खेल्नेछ, यसले पनि विश्वकप लिग टु क्रिकेटमा नेपालको आगामी यात्राबारे एक हदसम्म निर्धारण गर्ने छ ।लिग टुको त्रिकोणात्मक श्रृंखला चैत १ देखि ८ गतेसम्म यूएईमा हुनेछ, जहाँ नेपालसहित घरेलु टोली यूएई र पपुवा न्युगिनी (पीएनजी) ले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली श्रीलंकामा अभ्यास गरेर यूएई पुगिसकेको छ । लगातार टी–२० क्रिकेट खेलिरहेको नेपालले श्रीलंकामा खेलेका चारवटा अभ्यास खेलमध्ये तीनवटा जित्यो ।प्रशिक्षक पुबुदु दासानायकेले चार अभ्यास खेलमा टिममा भएका सबै १६ खेलाडीलाई परीक्षण गरेका थिए । तर नेपालले अझै पनि पूरा ५० ओभर खेल्न संघर्ष गरिरहेको छ । तीन खेलमा नेपालले ५० ओभर पूरै पनि ब्याटिङ गर्न सकेन ।नेपालले पहिलो खेल चैत २ गते पीएनजीसँग खेल्नेछ । यस्तै नेपालले चैत ४ गते यूएई, ७ गते पुनः यूएई र ८ गते पीएनजीसँग खेल्नेछ ।

तयारीका लागि श्रीलंका जानुअघि पनि नेपालका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकेले यूएई अहिलेको सन्दर्भमा उत्कृष्ट टोलीको रुपमा रहेको बताएका थिए ।‘हाम्रो लागि हरेक खेल महत्वपूर्ण छ । यो लिगमा सबै टिम उत्तिकै महत्वपूर्ण छन् । जति पनि खेल्नेवाला छौं । जितेर नै आउने योजना छ,’ श्रीलंका जानुअघि लिग टु को लक्ष्यबारे सन्दीपले भनेका थिए, ‘यूएई अहिले उत्कृष्ट फर्ममा छ । पीएनजीले यो लिग टुमा खेल नजिते पनि कमजोर आँक्न मिल्दैन ।’

सन्दीपले नेपाली टिमको लागि चुनौती रहेको भन्दै आफू त्यसका लागि तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो लागि चुनौती छ र यसका लागि हामी तयार छौं ।’प्रशिक्षक पुबुदु दासानायकेले पनि यूएई अहिले एसोसिएट टोलीमध्येकै उत्कृष्ट मानेका छन् । ‘अहिलेको सन्दर्भमा यूएई उत्कृष्ट एसोसिएट टिम हो । उनीहरुले स्तरीय क्रिकेट खेलिरहेका छन् ।

तर, हाम्रो टिममा युवाको बाहुल्यता छ । उनीहरु राम्रो प्रदर्शनका लागि भोका छन् । टिममा क्षमतावान खेलाडीहरु छन्,’ प्रशिक्षक पुबुदुले भने  उनले लिग टु को साइकल लामो रहेकाले यसमा शीर्ष तीनमा रहेर एकदिवसीय मान्यतालाई कायम राख्ने लक्ष्य सुनाए ।कप्तान सन्दीप लामिछानेले सोमपाल कामी र करण केसी फर्किएकाले यस पटक टिम सन्तुलित रहेको बताए । ब्याटिङमा रोहित पौडेल पनि टिममा फर्किएका छन् ।अनलाइन खबर