नयाँ गीत ‘पीर’लाई राजनीतिकरण नगर्न प्रकाश सपुतकोआग्रह

[sharethis-inline-buttons]

काठमाडौं –

दुई दिनअघि युट्युबमा सार्वजनिक ‘पीर’ बोलको गीत सार्वजनिक भएसँगै केही विवाद सिर्जना भएको हो । गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’लाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु यो गीतविरुद्ध खनिएका छन् । खासगरी पूर्वमाओवादी छापामार देशव्यापारमा संलग्न भएको दृश्यप्रति उनीहरुले आपत्ति जनाएका छन् ।

तर गीतको भिडियोको केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा उनले माफी मागेका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गरेका हुन् ।

साथै उनले कसैले यस विषयलाई नियतवश उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि आग्रह गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन । मैले कसैसँग पनि यो विषयमा सहयोग र सल्लाह लिएको छैन । त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं, तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ।

कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष र विपक्षमा एकोहोरो भइन्छ । नेपाली सोसियल मिडियामा यो गलत नजीर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट,विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौं ।