मिथिला मध्यमा परिक्रमाका तीर्थयात्रीहरू धनुषाको प्रसिद्ध धार्मिक तीर्थस्थल धनुषाधाम आइपुग्याे

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
मिथिला मध्यमा परिक्रमाका तीर्थयात्रीहरू धनुषाको प्रसिद्ध धार्मिक तीर्थस्थल धनुषाधाम आइपुगेको छ । नेपाल तथा भारतको १ सय ३३ किलोमिटरको दूरी परिक्रमाका तीर्थयात्रीहरू खाली खुट्टा भजन कीर्तनसहित १५ दिन लगाएर परिक्रमा गर्ने गर्दछन। फागु पूर्णिमा भन्दा एक दिन अगाडी जनकपुरधामको आएर विश्राम गरी भोलिपल्ट पञ्चकोशी अन्तर गृह परिक्रमा सकेर घर फर्केपछि तराई मधेसका जिल्लाहरूमा होली खेल्ने चलन रहेको छ ।
धनुषाको पर्वताबाट मिथिला विहारी अर्थात् भगवान् राम तथा किशोरी जी अर्थात् माता जानकीको डोलासँगै परिक्रमाका तीर्थयात्रीहरू आज धनुषाधाम आइपुगेको हो ।

धनुषाधाम आइपुग्दा धनुषाधाम नगरपालिकाका प्रमुख वालेश्वर मण्डलसहितका जनप्रतिनिधिहरूले परिक्रमाका तीर्थयात्रीहरूलाई स्वागत गरेका थिए । धनुषाका प्रसिद्ध धार्मिक तीर्थस्थल धनुषाधाममा विश्राम गरेपछि भोलि आइतबार धनुषाको अर्को धार्मिक स्थल सतोखरका लागि परिक्रमा प्रस्थान गर्नेछ ।

फाल्गुण शुक्ल पक्ष प्रतिपदाबाट जनकपुरधामको हनुमान गढीबाट सुरु हुने मध्यमा मिथिला परिक्रमा १५ दिन सम्म चल्ने छ। मध्यमा परिक्रमाका तीर्थयात्रीहरू भारतको विभिन्न धार्मिक स्थलहरूमा विश्राम गर्दै महोत्तरीको मटिहानी, जलेश्वर, ध्रुव कुण्ड, कञ्चनवन, धनुषाको पर्वता हुँदै आज धनुषाधाम आइपुगेको हो ।

धनुषाका प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञा पुरा गर्नका लागि भगवान् शिवको पिनाक धनुषमा अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामले प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएकोमा एक टुक्रा धनुषाधाममा खसेको धार्मिक मान्यता रहेको छ ।

परिवारजनको कल्याण, सुखशान्ति तथा समृद्धि तथा मोक्ष प्राप्तिको कामनासहित परिक्रममा लाखौँ व्यक्तिहरू सहभागी हुने गरेकाले यसलाई मिथिलाको महाकुम्भ भन्ने चलन रहेको छ ।