काठमाडौं-
सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) बहुपदीय व्यवस्थामा नजाने भएको छ । बहुपदीय एवं सामूहिक नेतृत्वमा जानुपर्ने माग उठे पनि हाललाई सो व्यवस्थामा नजाने निष्कर्षमा सो पार्टी पुगेको छ । बिहीबार र शुक्रबार काठमाडौंमा जसपाको कार्यकारिणी समितिको बैठक बस्यो । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सामूहिक एवं बहुपदीय प्रणालीमा जानुपर्ने गरेको प्रस्ताव अध्यक्ष उपेन्द्र यादव समूह ‘टालटुल’ गर्दै हाललाई यथास्थितिमै पार्टीलाई अगाडि बढाउने पक्षमा उभिएको छ ।
कार्यकारिणी समितिको बैठकमा डा. भट्टराई पक्षले सामूहिक एवं बहुपदीय व्यवस्थामा जानुपर्ने माग गरेका थिए । यसअघि समेत भट्टराई समूहले यो मुद्दा उठाउँदै आएको भए पनि पार्टीमा लागू नगर्ने पक्षमा यादव समूह उभिएपछि हालकै व्यवस्थाअनुसार पार्टी अगाडि बढ्ने भएको छ ।
‘बहुपदीय र सामूहिक नेतृत्वमा जानुपर्ने माग बैठकमा उठेको छ । तर, हाललाई सोअनुसार निर्णय हुन सकेन,’ बैठकमा सहभागी कार्यकारिणी समितिका एक सदस्यले भने, ‘बहुपदीय र सामूहिक नेतृत्वमा गए उपेन्द्रजीको मनोमानी चल्दैन, त्यही भएर बाबुरामजीले उठाउँदै आएको सो विषयमा केही पनि निर्णय हुन सकेन ।’ आजको राजधानी दैनिकमा समाचार छ ।