कास्की,फागुन २४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन्।
एमाले गण्डकी प्रदेश कमिटिले मंगलवार पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको बताउँदै एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गरे।
जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताए। उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभई समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिए।
विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गरे।
यस्तै‚ अन्तर्राष्ट्रिय नारी दिवसबारे चर्चा गर्दै अध्यक्ष ओलीले नेपालमा महिला सशक्तीकरण बढेको र आफूलाई प्राप्त जिम्मेवारीलाई उनीहरूले सफलताका साथ बहन गरिरहेको बताए।रासस