काठमाडौं -ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४, नल्लुमा एकै परिवारको पाँच जनाको मृत्यु हुनुको कारण ‘कार्बन पोइजनिङ’ हुनसक्ने देखिएको छ ।महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्यु भएको प्रारम्भिक जानकारी दिएका हुन् ।
अस्पतालका एक चिकित्सकका अनुसार निसास्सिएर मृत्यु हुनुलाई मेडिकलको भाषामा कार्बन पोइजनिङ भनिन्छ । ‘भर्खर बनाएको घरको झ्याल खुला भएकाले बोरा लगाएर सुत्नुभएको रहेछ’ उनले भने, ‘त्यसैले धुँवा राम्रोसँग बाहिर निस्किन पाएन र यस्तो घटना भएको हुनसक्ने देखिन्छ ।’यद्यपि, पाँच जनाको मृत्युको आधिकारिक कारण पोष्टमार्टम रिपोर्टमा मात्रै खुल्ने उनले बताए । ललितपुरका एसपी शाहका अनुसार नल्लुमा काइँली स्याङतानको परिवार गएराति खाना खाएर कोइला बालेर सुतेका थिए
बिहान साढे ८ बजेतिर वडाध्यक्ष तीर्थ घलानले घरमा केही व्यक्तिको मृत्यु भएको भन्दै खबर गरेपछि इलाका प्रहरी कार्यालय, कोञ्ज्योसोमबाट प्रहरी निरीक्षक दीपक रिजालको नेतृत्वमा टोली गएको थियो ।टोलीले घरबाट एकै परिवारका चार जनाको शव निकालेको थियो भने दुई जनालाई उपचारका लागि पठाएको थियो ।
इन्स्पेक्टर रिजालका अनुसार घटनास्थलमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुष्मा र ७ वर्षीय आस्माको मृत अवस्थामा भेटिएका थिए । उपचारका लागि पठाइएका मध्ये दुई दिनको अर्का एक नवजात शिशुको पनि मृत्यु भएको उनले बताए ।एसपी शाहका अनुसार २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ, तर उनको अवस्थामा पनि गम्भीर छ ।अनलाइन खबर