माओवादीको केन्द्रीय समितिमा ६ एजेण्डा, प्राथमिकतामा एमसीसी

[sharethis-inline-buttons]

आज्ञा सम्बाददाता
 काठमाडौं

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा विभिन्न ६ वटा एजेण्डा तय भएको छ ।तय भएका एजेण्डाहरुमा पहिलो नम्बरमा शहीदप्रति श्रद्धाञ्जली दिइने उल्लेख छ भने दोस्रो नम्बरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकातर्फबट रिर्पाटिङ गर्ने र अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौताबारे छलफल गर्ने उल्लेख छ ।

यस्तै एमसीसी अनुमोदन गर्न पार्टीले सघाएको विषयलाई लिएर माओवादीभित्र बहस र अन्तरविरोध भइरहेका बेला केन्द्रीय समितिको बैठकमा यसलाई प्राथमिकतामा राखिएको माओवादी नेताहरुले बताएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतले एमसीसीको व्याख्यात्मक घोषणासहित पास गर्ने पार्टीको निर्णयमै अहसमत जनाएका थिए ।प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि पनि काजीसहितका नेताहरुले पार्टीले गलत गरेको भनी पार्टीमा छलफलको माग राखेका थिए ।

सोही कारण जारी केन्द्रीय किमटीको बैठकमा एमसीसीले पहिलो प्राथमिकता पाएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।
एजेण्डाको तेस्रो नम्बरमा संगठनात्मक कामबारे छलफल हुने उल्लेख छ जहाँ महाधिवेशनबाट टुंगो लाग्न बाँकी रहेका महासचिवसहितका पदाधिकारी चयन, केन्द्रीय सदस्य थप, पोलिटब्यूरो, स्थायी समितिबारे छलफल हुनेछ ।एजेण्डाको चौथो नम्बरमा कार्यविभाजनबारे छलफल गर्ने र पाँचौं नम्बरमा स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्ने उल्लेख छ ।

एजेण्डाको छैठौं नम्बरमा विविध विषयअन्तर्गत रामवृक्ष यादवको सालिकबारे पनि छलफल हुनेछ । माओवादीको गत महाधिवेशनमै यादवको सालिक हटाएको विषयमा नेताहरुले असन्तुष्टि राखेका थिए ।महोत्तरीको बर्दिवास नगरपालिका-११ स्थित खयरमारामा रामवृक्षको सालिक राखिएको थियो । पछि निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गरी, यादवको सालिक हटाएर निर्मल लामाको सालिक स्थापना गरिएको थियो । यो विषयलाई लिएर माओवादीभित्र असन्तुष्टी र बहस चल्दै आएको छ ।

यस्तै, नेकपा एकता केन्द्र मसालसंगको बाँकी कामबारे छलफल गर्ने एजेण्डा पनि विविध अन्तर्गत राखिएको छ । पार्टी एकता भएर आएको लामो समयपछि यो एजेण्डाले पुनः माओवादीमा प्रवेश पाएको हो ।श्रेष्ठ नेतृत्वको एकताकेन्द्र र माओवादीबीच २०६५ पुस २९ गते एकता भएको थियो भने औपचारिक घोषणा २०६५ माघ २२ गते भयो र नाम एकीकृत नेकपा माओवादी केन्द्र रह्न गएको थियो ।

खासगरी पछिल्लो समय एमसीसीलाई लिएर अन्तरविरोध चर्किएपछि नारायणकाजी श्रेष्ठलाई विश्वासमा लिन यो एजेण्डालाई केन्द्रीय समितिमा पेश गरिएको हो ।नागरिकता लगायतका महत्वपूर्ण विधेकहरु संसदमा अड्किएकोले यसलाई अगाडि बढाउने लगायतका विषयलाई विविध अन्तर्गत राखिएको छ ।अनलाइन खबर