आज्ञा सम्बाददाता
काठमाण्डौँ
लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए ।
श्रेष्ठका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाटलडेको अवस्थामा उनी मृत फेला परेका थिए ।महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार उनी बैठकमा सहभागी हुन भन्दै मंगलबार बेलुकी ७ बजे काठमाडौंको बौद्ध गएका थिए ।
आज बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए ।डिएसपी पाण्डेले घटनाको थप अनुसन्धान भइरहेको बताए ।सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।
उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।