यसपालि युएईलाई पन्छाए विश्वकपमा नेपाल

[sharethis-inline-buttons]

काठमाडौं ,९ फागुन ।

क्यानडालाई ८ विकेटले हराएपछि समूहमा शतप्रतिशत जितका साथ नेपाल आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । आगामी अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपमा छानिन नेपालले मंगलबार ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा युएईलाई पराजित गर्नुपर्नेछ ।

सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छानिनका लागि निर्णायक खेलमा पनि नेपालले हङकङलाई पराजित गरेको थियो । ६ टोली विश्वकपमा छानिने व्यवस्थाअनुसार २०१३ को नोभेम्बर २७ मा युएईमा भएको क्वार्टरफाइनलमा हङकङलाई पराजित गरी नेपाल ऐतिहासिक रुपमा विश्वकपमा पुगेको थियो । शरद भेषावकरले अन्तिम ओभरमा चौका र छक्कासहित १२ रन जोडेपछि नेपालले चर्चित जित पाएको थियो ।

सोही प्रतियोगितामा तेस्रो स्थानका लागि आबुधावीमा भएको प्लेअफमा युएईले दिएको १३२ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो । शरद भेषावकरले लगातार दुई छक्का प्रहार गरी नेपाललाई ऐतिहासिक जित दिलाएका थिए । त्यतिबेलैदेखि उनले समर्थकबाट ‘द फिनिसिर’को उपमा पाउन थालेका हुन् । त्यतिबेला नेपाली टिममा रहेका ज्ञानेन्द्र मल्ल र जितेन्द्र मुखियामात्र अहिलेसम्म टिममा छन् ।

यसपटक निर्णायक खेलमा युएईलाई नेपालको प्रतिद्वन्द्वीका रुपमा पाएको छ । ऐतिहासिक विश्वकप यात्राको ९ वर्ष अन्तरमा धेरै समीकरण परिवर्तन भएका छन् । दुवै टिममा धेरैजसो खेलाडी परिवर्तित छन् । पछिल्ला वर्षहरुमा युएई, नेपालजस्ता एसोसिएट देशबीचको प्रतिस्पर्धास्तर पनि बढेको छ ।अनलाइन खबर