आजदेखि बिनायात्रु रेल चल्ने

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
जनकपुरधाम–
नेपाल सरकारले दुई वटा रेल खरिद गरेर धनुषाको ईनर्वा स्टेशनमा त्रिपालले छोपेर राखेको झण्डै १५ महिनापछि रेल सेवा आजदेखी बिनायात्री सञ्चालनमा आउँन लागेको छ ।

रेलको उद्घाटन नभएसम्म खाली रेल सञ्चालनमा ल्याउन लागिएको हो
रेलसेवा १० दिन भित्र उद्घाटनको तयारी गरीएको छ। रेल उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।
उनका अनुसार रेलको उद्घाटनको मिति तय हुन बाँकी रहेपनि रेल अब नियमित चल्ने र यसका लागि ट्रयाक नजिक रहेका हाट बजारहरूसमेत खालि गराइसकेको छ। आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक जनकपुरधामको मुख्य स्टेशन (कुर्था)–जयनगरसम्म रेल ओहोरदोहोर गर्नेछ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँको सहयोगमा निर्माण हुन लागेको जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनमा आउन लागेको हो ।

रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारीका लागि भारतीय रेल कम्पनी केआरसीएलसँग दुई पक्षीय जीटूजी सम्झौता भएको छ । रेल सञ्चालनकालागि प्रशासनिक तथा सहयोगी गरी ६५ कर्मचारी भर्ना गरी तालिमसमेत दिई सकिएको बताईएको छ।

रेल्वे कम्पनीले कुर्थादेखि जयनगरसम्मको जेनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगरसम्म ५ स्टेशन र ३ वटा हल्ट रहेका छन् । रेल्वेको टिकट स्टेशन र हल्ट दुवै स्थानमा उपलब्ध हुने समेत महाप्रबन्धक झाको भनाई छ ।