रेल चलाउन, लिगबाट हाटबजार हटाउन थालियो

[sharethis-inline-buttons]

आञा सम्वाददाता
जनकपुरधाम
नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने भएपछि
फागुण महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको रेल्वे कम्पनीले जनकपुरधाम स्थित रेल्वे स्टेसन नजिकको रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो । जनकपुरधाम सहित ठाउँ–ठाउँमा रेल्वे लिगमै तरकारीको हाटबजार लगाउने गरेको कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिगबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

‘हाटबजार रेल्वे लिगबाट अन्यत्र सार्ने विषयमा जनकपुरधामका जनप्रतिनिधि, व्यापारी र स्थानीयवासीसँग छलफल गरेर वैकल्पिक ठाउँमा हाट बजार सार्न पहलसमेत भइरहेको छ ।’ हाटबजारका लागि जनकपुरधाम स्थित रेल्वे स्टेशनकै छेउमा रहेको रेल्वे कम्पनीको जग्गाको निरीक्षण गरिसकेको र त्यसैलाई व्यवस्थित गरेर त्यहीँ हाटबजार लगाउने विषयमा एक चरणको छलफल समेत भएको झाको भनाइ छ ।