काठमाडौं, माघ २५ ।
यस वर्षको हिउँदमा झण्डै सरदर वर्षा भएको छ । हिउँदमा ६०.९ मिलिमिटर पानी परेमा सरदर मानिन्छ ।
फेरि पनि नेपालमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ ।
तर यस वर्षको हिउँद सकिन बाँकी छँदै ५७.७ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो सरदर वर्षाको ९९ प्रतिशतभन्दा बढी हो ।
बुधबारदेखि भने सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन् । यसपछि विस्तारै गर्मी सुरु हुने छ ।
विभागको जलवायु शाखा प्रमुख एवम् वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार गत वर्ष हिउँदमा जम्मा १५.५ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । यो सरदर वर्षा (६०.९ मिलिमिटर)को करिब एक चौथाइ मात्र हो ।