आज्ञा सम्वाददाता
जनकपुर
नेपालको एकमात्र रेलसेवा आगामी फागुन १ गते देखि सञ्चालनमा आउँने भएको छ । जनकपुर जयनगर–कुर्था रेलमार्ग अहिले औपचारिक रुपमै सञ्चाल नभएपनि दैनिक एकपटक रेल चलाउन लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
झा का अनुसार रेल्वेको अतिक्रमित जग्गा खाली गराउन, दैनिक लागत पत्ता लगाउन र यात्रुको चाप पहिचान गर्न, रेल सञ्चालन गर्न लागिएको जानकारी दिए।
रेल्वे सञ्चालनका लागि ६० जना कर्मचारी तयारी अवस्थामा रहेका छन् । रेल सञ्चालनकालागी २६ भारतीय र ३४ जना नेपाली कर्मचारीले काम गर्नेछन् । १४ भारतीय कर्मचारी नेपाल आइसकेको र नेपाली कर्मचारीहरूलाई उनीहरूले नै तालिम दिएका छन् । प्रमुख कामको जिम्मा भारतीय कामदारलाई दिइएको छ ।
भारतको जयनगर देखि नेपालको कुर्थासम्म एसी चलाएर रेल सञ्चालन गर्दा दैनिक २८० लिटर डिजेल लाग्ने अनुमान गरिएको छ । रेलको सर्भिसिङ भारतको सोनपुरमा हुने बताइएको छ ।