वर्षा सिवाकोटी : बैंकर बन्न चाहन्थिन्, हिरोइन बनिन्

[sharethis-inline-buttons]

फिल्म ‘नाइँ नभन्नू ल २’ बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री वर्षा सिवाकोटीले छोटो समयमै आफूलाई कुशल अभिनेत्रीको रुपमा स्थापित गर्न सफल भइन् । फिल्म ‘पशुपति प्रसाद’ मा सानो भूमिका भएपनि दर्शकमा आफ्नो राम्रो प्रभाव छाडेकी उनले सोलो अभिनेत्रीको रुपमा अभिनय गरेका प्रायः फिल्म भने असफल छन् । तर, यसको असर उनको करिअरले भोग्नु परेको छैन ।

कोरोना महामारीअघि फिल्ममा अभिनय गर्न भ्याइनभ्याइ रहेकी वर्षाले कलेजमा अध्ययन गर्दासम्म फिल्ममा आउनेबारे सोचेको पनि थिइनन् । तर, हलमा फिल्म हेर्दा भने उनी आफूलाई पनि कल्पना गर्थिन् । एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘कलेजमा पढिरहँदा फिल्ममा अभिनय गर्ने बारेमा सोचेको पनि थिइनँ । मेरो बेग्लै दुनियाँ थियो । विविएपछि बैंकको म्यानेजर बन्न चाहन्थेँ ।’

वर्षालाई सबैभन्दा पहिला ‘नाइँ नभन्नू ल २’ बाट अफर आएपनि फिल्म रिलिज हुनुभन्दा अगाडि उनले थुप्रै म्यूजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् । उनले पहिलो फिल्ममा अभिनय गर्दाको क्षण स्मरण गर्दै भनेकी छन्, ‘फिल्ममा मेरो सानो रोल थियो । तर, म क्यामेराअघि उभिएर अभिनय गर्न सक्ने रहेछु भन्ने महशुस भएको दिन ‘नाइँ नभन्नू ल २’ को छायांकन सकिएको थियो ।’

नेपाली फिल्म दर्शकको स्वाद अनुसार नबन्न नसकेको उनको तर्क छ । आफूले सबै प्रोजेक्टहरु चित्त बुझेरै गर्ने गरेको भएपनि काम गर्दै जाँदा ‘यो फिल्मले दर्शकको मन जित्दैन’ भन्ने महशुस हुने गरेको उनी बताउँछिन् । फिल्म आफ्नो इच्छा पूरा गर्न नभइ दर्शकका लागि बनाइने भएकाले दर्शकको भावना बुझ्नु पर्ने उनको कथन छ । उनले गीतले फिल्म नचल्ने पनि बताएकी छन् ।