गृह मन्त्रालयले भ्रमण भिसाको दुरुपयोग गरि हुने गरेको मानवतस्करीलाई रोक्न कार्यदल बनाउने भएको छ । सिंहदरबारमा मंगलबार बसेको गृह मन्त्रालय, श्रम मन्त्रालय तथा सरोकारवाला निकायसहितको छलफलमा गृह मन्त्रालयले मानवतस्करीलाई रोक्न कार्यदल बनाउने जनाएको हो । छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले भ्रमण भिसाको दुरुपयोग गर्दै मानवतस्करी हुने गरेको र यसले गर्दा विभिन्न मुलुकमा नेपालीहरूले दुख पाउने गरेको बताए ।
भ्रमण भिसालाई दुरुपयोग हुन नदिनका लागि कार्यदल नै बनाएर नियमन गर्नुपर्ने उनको भनाई छ । मन्त्री खाँणले भ्रमण भिसामा गएर काम गर्ने र पछि समस्यामा पर्ने देखिएकाले यसमा सरकार गम्भीर रहेको भन्दै भ्रमण भिसालाई अन्य प्रयोजनमा दुरुपयोग नगर्न सजगता अपनाउनुपर्ने बताए ।
त्यस्तै श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरूमाथि बिचौलियाहरूले ठगी गरेको उल्लेख गर्दै १० हजार शुल्कका विषयमा पनि अव पुनरावलोकन गर्नुपर्ने देखिएको धारणा राखे । वैदेशिक रोजगारमा गएर समस्यामा परेका नेपालीको समस्या सम्बोधन गर्न छुट्टै निकायको आवश्यकता देखिएको उनको भनाई छ । कार्यक्रममा सरोकारवालाहरूले सेटिङमा हुने गरेको मानवतस्करी रोक्न चुनौती देखिएको भन्दै सबै निकायबिच समन्वयनकारी भूमिका हुनुपर्नेमा जोड दिएका थिए ।