एजेन्सी : मुम्बईको अँधेरी इलाकामा अभिनेत्री पायल घोषमाथि अज्ञात समूहले एसिड आक्रमणको प्रयास गरेको छ । अभिनेत्रीले आफूलाई एसिड आक्रमणको प्रयास भए पनि त्यसबाट आफू बचेको दाबी गरेकी छन् ।
अभिनेत्रीका अनुसार उनी मुम्बईको अँधेरी इलाकाबाट आफ्नो घर फर्किइरहेकी थिइन् । उनी आफ्नो कारमा बस्न लाग्दा कसैले उनीमाथि आक्रमण गरेका थिए । ‘उनीहरुसँग हातमा एसिड पनि थियो । उनीहरुले अनुहार छोपेका थिए । त्यहाँबाट उम्कन खोज्दा हातमा सामान्य चोट लाग्यो’, उनले भनेकी छन् ।
‘म आफ्नो ड्राइभिङ सिटमा बस्न लागेको थिएँ । हातमा एसिड बोकेका केही व्यक्ति आएर मलाई आक्रमण गर्ने प्रयास गरे । त्यसपछि म चिच्याएँ र उनीहरु भागे । उनीहरुले मेरो टाउकोमा रडले हिर्काए पनि सौभाग्यले कुनै चोट लागेन । तर हातमा भने चोट लाग्यो । किनकी उनीहरुले हातमा पनि हिर्काएका थिए’, उनले भनेकी छन् । पायलले आफ्नो भाइसँग प्रहरीमा गएर उजुरी दिने उल्लेख गरेकी छन् ।
पायलले प्रख्यात निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएर बलिउडमा सनसनी मच्चाएकी थिइन् । यसका लागि उनले एक ट्वीट गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग पनि मागेकी थिइन् ।
तर कश्यपले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका थिए । प्रहरीले यो मामलामा उनीसँग सोधपुछ पनि गरेको थियो ।