महोत्तरी क्षेत्र नं. १ का नागरिकलाई केएमसी अस्पतालमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट

निकेश खनाल

महोत्तरी

महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं. १ का नागरिकले काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।

नेपाली कांग्रेस महोत्तरी जिल्ला क्षेत्र नं. १ र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच स्वास्थ्य उपचारमा विशेष सहुलियत उपलब्ध गराउनेसम्बन्धी शनिवार सम्झौता भएपछि यसक्षेत्रका नागरिकले यस्तो सुविधा शुल्कमै उपचार पाउने भएका हुन्।

सम्झौताअनुसार नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. १ को सिफारिशमा उपचारका लागि जाने बिरामीले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा ५० प्रतिशत, काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल अस्पतालमा २० प्रतिशतसम्म छुट पाउनेछन्।

नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य उपचारसम्बन्धी सुविधा, स्वास्थ्य बीमा, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सुविधा पूर्ण रूपमा उपयोग गरिसकेपछि बाँकी उपचार सेवामा सम्झौताअनुसार छुट उपलब्ध गराइनेछ। स्वास्थ्य बीमामा आबद्ध नभएका तथा बीमा गराए पनि बीमा सुविधा क्रियाशील नभइसकेका बिरामीले समेत यो सुविधा पाउने सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार बिरामीले अस्पतालमा सहुलियत प्राप्त गर्न नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. १ बाट जारी गरिएको सिफारिशपत्र वा सिफारिशका लागि तयार गरिएको ह्वाट्सएप समूहबाट सिफारिश लिएर जानुपर्नेछ।

 

छुट सुविधाअन्तर्गत बिरामी दर्ता तथा ओपीडी कार्ड निःशुल्क उपलब्ध हुनेछ। त्यस्तै, सामान्य शय्या, आईसीयू, एचडीयू, सीसीयू, शल्यक्रिया कक्ष, प्रयोगशाला परीक्षण, सीटी स्क्यान, एमआरआई, एक्स–रे, अल्ट्रासाउन्ड, ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, दन्त उपचारलगायतका सेवामा २५ प्रतिशत छुट दिइनेछ।

तर, आईभीएफ, प्लास्टिक सर्जरी, प्रत्यारोपण, सौन्दर्य शल्यक्रिया, स्नायु प्रणालीसम्बन्धी हस्तक्षेप, क्याबिनमा बसेर उपचार गर्दा तथा औषधि र चिकित्साजन्य सामग्रीमा भने छुट उपलब्ध हुने छैन। क्याथ ल्याब सेवा, एन्जियोग्राम, एन्जियोप्लास्टी तथा स्टेन्ट, गाइड वायर र बेलुनलगायतका सामग्रीमा पनि छुट नहुने सम्झौतामा स्पष्ट पारिएको छ।

नेपाली काँग्रेस महोत्तरी क्षेत्र नम्बर १ ले सामाजिक उत्तरदायित्वअन्तर्गत क्षेत्र नम्बर १ का नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले सम्झौता गरिएको जनाइएको छ। साथै, सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीलाई प्राथमिकताका साथ उपचार सेवा उपलब्ध गराउने उद्देश्यसमेत सम्झौतामा समेटिएको छ।

सम्झौतामा काठमाडौं मेडिकल कलेजका तर्फबाट प्रशासन प्रमुख नारायण दाहाल र नेपाली कांग्रेस महोत्तरी जिल्ला क्षेत्र नं. १ का सभापति युवराज पोखरेलले हस्ताक्षर गरेका छन्।

सम्झौताको अवधि २०८४ असार मसान्तसम्म कायम रहनेछ। दुवै पक्षको आपसी सहमतिमा सम्झौताका बुँदाहरू परिमार्जन तथा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...