आज्ञा खबर
बर्दिबास, महोत्तरी
पोलियो रोगको जोखिमबाट बालबालिकालाई सुरक्षित राख्न तथा यसको पूर्ण उन्मूलनका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा जनचेतनामूलक र्याली आयोजना गरिएको छ।
रोटरी क्लब अफ बर्दिबासको आयोजनामा निकालिएको र्यालीमा सयौँ विद्यार्थी, रोटरीयन, रोट्र्याक्ट सदस्य तथा स्थानीयवासीको सहभागिता रहेको थियो। गौतम होटलनजिकबाट सुरु भएको र्याली सिन्धुली रोडस्थित पिपल चौतारीमा पुगेर समापन भएको थियो।
विश्व स्वास्थ्य संगठन र रोटरी इन्टरनेसनलको सहकार्यमा सञ्चालन हुँदै आएको पोलियो उन्मूलन अभियानलाई थप प्रभावकारी बनाउने तथा समुदायमा रोगसम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष सुमित्रा भट्टराईले जानकारी दिइन्।
हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसका अवसरमा आयोजना गर्नुपर्ने कार्यक्रम प्रतिकूल मौसमका कारण केही ढिलो गरी सम्पन्न गरिएको उनले बताइन्।
नेपालमा सन् २०१० यता पोलियोको नयाँ संक्रमण देखिएको छैन। देशमा पोलियो नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियानलाई प्राथमिकता दिँदै आइएको छ। बालबालिकालाई नियमित खोपको पहुँचमा पुर्याउनु र छुटेका बालबालिकालाई खोप लगाउने व्यवस्था गर्नु रोगविरुद्धको अभियानका महत्वपूर्ण पक्ष हुन्।
र्यालीपछि आयोजित कोणसभामा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले नगरपालिकाले घरघरमै पुगेर पोलियोविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको बताए। बालबालिकालाई रोगबाट सुरक्षित राख्न स्वास्थ्यसम्बन्धी जनचेतना र खोप कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा अन्तरसंघ–संस्था समन्वय सञ्जालका अध्यक्ष रामकुमार कार्की, हेल्प फाउन्डेसनका अध्यक्ष तथा अधिवक्ता टीकाकाध्वज खड्का, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कार्की र रोटरी क्लब अफ बर्दिबासकी अध्यक्ष सुमित्रा भट्टराईलगायतले पोलियोमुक्त समाज निर्माणका लागि सरकारी निकाय, सामाजिक संघसंस्था र नागरिकबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
पोलियो उन्मूलन अभियानमा प्राप्त उपलब्धिलाई कायम राख्न नियमित खोप, जनचेतना र समुदायको सक्रिय सहभागितालाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।





































