महेन्द्रनगरमा आकाशे पुल तयार, लक्ष्मीनियाको पुल निर्माण अन्तिम चरणमा

आज्ञा खबर

धनुषा

जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा पैदल यात्रुको सुरक्षा र सडक आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएका दुईवटा आकाशे पुल सञ्चालनको तयारीमा छन्। लक्ष्मीनिया गाउँपालिकामा निर्माण भइरहेको अर्को पुलको कामसमेत तीव्र गतिमा अघि बढिरहेको छ।

सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामका अनुसार महेन्द्रनगरको महिला विकास चोक र सखुवा चोकमा निर्माण गरिएका पुलमा अहिले रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको छ। आवश्यक काम पूरा भएपछि ती पुल सर्वसाधारणका लागि खुला गरिनेछ।

व्यस्त सडकमा पैदल यात्रुहरूलाई सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने बाध्यता हटाउने लक्ष्यसहित तीनवटा आकाशे पुल निर्माण थालिएको हो। यसका लागि करिब १० करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। मधेश प्रदेशमा निर्माण गरिएका यस्ता पुलले सडक सुरक्षा सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगा प्रसाद साहका अनुसार महिला विकास चोकमा निर्माण गरिएको पुलका लागि तीन करोड ३५ लाख रुपैयाँ र सखुवा चोकको पुलका लागि तीन करोड ५७ लाख रुपैयाँ खर्च हुने गरी बजेट विनियोजन गरिएको छ। त्यस्तै, लक्ष्मीनिया गाउँपालिकामा निर्माणाधीन पुलका लागि तीन करोड ४२ लाख रुपैयाँ छुट्याइएको छ। यी सबै लागतमा मूल्य अभिवृद्धि कर (भ्याट) समावेश छ।

कार्यालयका साइट इन्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक पुलको उचाइ ५.६ मिटर, लम्बाइ २९.४ मिटर र चौडाइ तीन मिटर रहेको छ। लक्ष्मीनियामा निर्माण भइरहेको तेस्रो पुल अगहन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पूर्व–पश्चिम राजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने प्रमुख सडक खण्डमा पर्ने महेन्द्रनगरका महिला विकास चोक र सखुवा चोक आसपास हाटबजार, शैक्षिक संस्था तथा बाक्लो बस्ती रहेका छन्। त्यसैले यस क्षेत्रमा दैनिक ठूलो सङ्ख्यामा पैदल यात्रु सडक वारपार गर्ने गर्छन्।

स्थानीय शम्भु प्रसाद यादवले पुल सञ्चालनमा आएपछि विद्यार्थी, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई सडक पार गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले पनि आकाशे पुल सञ्चालनले सडक दुर्घटनाको जोखिम घटाउन सहयोग पुग्ने बताएका छन्।

तीनवटै पुल सञ्चालनमा आएपछि पैदल यात्रु र सवारीसाधनबीचको जोखिम कम हुनुका साथै व्यस्त सडकमा आवागमन थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...