आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले नगरको विकासमा साझेदारी संस्थाहरूले पुर्याउँदै आएको योगदान स्वागतयोग्य रहेको बताएका छन्।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) बर्दिवासको २०औँ वार्षिक साधारणसभा तथा संस्थागत सामाजिक लेखापरीक्षण कार्यक्रममा बोल्दै नगरप्रमुख क्षेत्रीले स्थानीय सरकारसँगको सहकार्यमा गैरसरकारी तथा साझेदारी संस्थाले सञ्चालन गरेका कार्यक्रमले विकासका प्रयासलाई थप प्रभावकारी बनाएको बताए।
स्थानीय सरकारको काममा साझेदारी संस्थाहरूले सहयोग पुर्याउँदै आएकाले विकासका आयोजनामा थप इँटा थप्न सहयोग पुगेको उनको भनाइ थियो। उनले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा साझेदारी संस्थासँगको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले संस्थाले दुई दशकको अवधिमा चुरे संरक्षण, बगरलाई बगैँचा बनाउने, समुदायमा जीविकोपार्जन, विपद् व्यवस्थापन तथा बाल संरक्षणलगायतका क्षेत्रमा विभिन्न साझेदार संस्थाको सहयोग र समन्वयमा काम गर्दै आएको जानकारी दिए।
उनका अनुसार संस्थाले वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, कृषि तथा जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण, शिक्षा, बाल संरक्षण र सामाजिक सुरक्षालगायतका क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ।
संस्थाले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न साझेदार संस्थाको सहयोगमा १६ वटा आयोजना सञ्चालन तथा व्यवस्थापन गरिरहेको जनाएको छ। तीमध्ये केही आयोजना सम्पन्न भइसकेका छन् भने अधिकांश आयोजना सञ्चालनको क्रममा रहेका छन्।
संस्थाको विवरणअनुसार चालु आर्थिक वर्षमा सञ्चालन गरिएका परियोजनाहरूको कुल बजेट २९ करोड २५ लाख ४४ हजार ५८३ रुपैयाँ ७७ पैसा रहेको छ। त्यसमध्ये १९ करोड ९४ लाख ९ हजार ७३५ रुपैयाँ १४ पैसा खर्च भइसकेको र ९ करोड ३१ लाख ३४ हजार ८४८ रुपैयाँ ६३ पैसा बाँकी रहेको संस्थाले जनाएको छ।
सञ्चालित परियोजनामध्ये सेभ द चिल्ड्रेन/कोइकाको साझेदारीमा सञ्चालित डिजिटल नवप्रवर्तन, रोजगारी तत्परता र गुणस्तरीय आधारभूत शिक्षा प्रवर्द्धनका लागि समावेशी सुपोषण प्रणाली (INSPIRE) को कुल बजेट ११ करोड ३६ लाख ७५ हजार १४२ रुपैयाँ रहेको छ।
त्यस्तै, सेभ द चिल्ड्रेनको साझेदारीमा प्रायोजन कार्यक्रमका लागि साझा दृष्टिकोण (CASP), बाल संवेदनशील सामाजिक सुरक्षा (CSSP) तथा समावेशी शिक्षा कार्यक्रम सञ्चालनमा छ।
विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशीलता, बाढी जोखिम व्यवस्थापन, समुदायमा आधारित अनुकूलन, क्षय भएको जग्गा पुनर्स्थापना तथा फलफूल रोपण, दलहन तथा उच्च मूल्यका बालीको मूल्य शृङ्खला विकास, स्थानीय क्षमता अभिवृद्धि, कृषक पाठशाला तथा जलवायु परिवर्तन अनुकूलनलगायतका क्षेत्रमा पनि संस्थाले विभिन्न परियोजना सञ्चालन गरिरहेको जनाएको छ।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपालले स्थानीय समुदायको आवश्यकता, वातावरण संरक्षण र दिगो विकासलाई केन्द्रमा राखेर साझेदार संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
