आज्ञा खबर
वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई मालपोत कर तिर्न सहज बनाउने उद्देश्यले वडा कार्यालयबाटै कर भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ। नयाँ व्यवस्थासँगै मालपोत कर बुझाउन महानगरपालिकाको केन्द्रीय कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ।
महानगरपालिकाका अनुसार अब महानगरअन्तर्गतका सबै वडा कार्यालयबाट मालपोत कर संकलनको व्यवस्था गरिएको छ। यसले सेवाग्राहीलाई आफ्नो घरपायक स्थानबाटै करसम्बन्धी सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले स्थानीयस्तरमै सेवा उपलब्ध गराउने महानगरपालिकाको नीतिअनुसार वडा कार्यालयबाट मालपोत कर भुक्तानीको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार वडा कार्यालयहरूमा कर संकलनका लागि आवश्यक प्रबन्ध मिलाउन सम्बन्धित शाखालाई निर्देशन दिइएको छ।
महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरवासीलाई आफूलाई पायक पर्ने सम्बन्धित वडा कार्यालयमा गई मालपोत कर बुझाउन आग्रह गरेको छ।
वडास्तरबाटै कर संकलन हुन थालेपछि सेवाग्राहीको समय र श्रम बचत हुनुका साथै महानगरपालिकाको सेवा प्रवाहलाई थप विकेन्द्रित र प्रभावकारी बनाउन सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ।
