आज्ञा खबर
सप्तरी
लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह बढेपछि सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ। हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब पाँच सय घर डुबानमा परेका छन् भने दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।
हनुमाननगर कंकालिनी नगरपालिकाका वडा नम्बर ५, ७, १२ र १३ का बस्तीमा बाढीको पानी पस्दा मात्रै ४ सय ८३ घर डुबानमा परेको नगरपालिकाले जनाएको छ। यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा १७ घर डुबानमा परेका छन्।
शुक्रबार राति सप्तकोशी नदीमा पानीको बहाव बढेपछि बस्तीमा बाढी पस्न थालेको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिए। बाढीका कारण प्रभावित परिवारको जनजीवन प्रभावित भएको उनले बताए।
नगरपालिकाले प्रभावित परिवारका लागि तत्काल राहत तथा खानाको व्यवस्था सुरु गरेको जनाएको छ। प्रमुख माझीका अनुसार प्रभावितलाई बिहान र साँझको भोजन उपलब्ध गराउनुका साथै क्षतिको विवरण संकलन गरी थप राहत सामग्री वितरण गर्ने तयारी भइरहेको छ।
बाढी प्रभावित क्षेत्रको अवस्था हेरेर उद्धार, राहत तथा आवश्यक सहयोगलाई थप प्रभावकारी बनाउने स्थानीय तहको तयारी छ।
