चाडपर्व नजिकिँदै गर्दा वीरगन्ज नाकाबाट आयातमा उल्लेख्य वृद्धि

आज्ञा खबर
बारा

उत्तरी भन्सार नाकाहरूमा आएको अवरोधका कारण पछिल्लो समय वीरगन्ज नाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीपछि रसुवा र तातोपानी भन्सार नाका प्रभावित बनेसँगै चीनबाट आयात हुने केही वस्तु वीरगन्ज नाकातर्फ मोडिएपछि यहाँको आयात कारोबार बढेको हो।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार पछिल्लो समय वीरगन्ज नाकाबाट हुने आयातमा करिब ७० प्रतिशतसम्म वृद्धि भएको छ। उत्तरी नाकाबाट सामान ल्याउन कठिनाइ भएपछि व्यवसायीहरूले वैकल्पिक रूपमा दक्षिणी नाका प्रयोग गर्न थालेका छन्।

त्यसमाथि दसैँ, तिहार तथा छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै गएकाले बजारमा आवश्यक पर्ने वस्तुको आयात पनि बढेको भन्सार कार्यालयले जनाएको छ। चाडपर्वलाई लक्षित गरी कपडा, जुत्ता, सजावटका सामग्री, ड्राइफ्रुट, चकलेटलगायतका वस्तुको आयात बढेको मैनालीले बताए।

उनका अनुसार वीरगन्ज भन्सारअन्तर्गत सिर्सिया सुक्खा बन्दरगाह हुँदै रेलमार्गबाट चीनबाट आयात गरिएका केही सामानसमेत भित्रिइसकेका छन्। चाडपर्व लक्षित वस्तुसँगै इन्धन, सवारीसाधन, निर्माण सामग्री, तेललगायत नियमित रूपमा आयात हुने वस्तुको कारोबारसमेत जारी रहेकाले भदौ महिनाको राजस्व संकलन उत्साहजनक देखिएको छ।

भन्सार कार्यालयका अनुसार भदौ महिनाका लागि २३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा २४ गते बुधबारसम्म ९३ दशमलव ३७ प्रतिशत लक्ष्य पूरा भइसकेको छ। मैनालीका अनुसार पछिल्लो समय दैनिक राजस्व संकलनसमेत उल्लेख्य रूपमा बढिरहेको छ।

यता भोटेकोशी बाढीका कारण काठमाडौं जोड्ने मुख्य सडकमा अवरोध उत्पन्न भएपछि मालवाहक सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ। एउटा कन्टेनरमा आउने सामान तीनवटा सवारीसाधनमार्फत ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएकाले ढुवानी लागत बढेको व्यवसायीहरूको भनाइ छ।

ढुवानी खर्च बढेसँगै यसको प्रत्यक्ष प्रभाव बजार मूल्यमा पर्न सक्ने भन्दै उपभोक्ता अधिकारकर्मी तथा उपभोक्तावादी संघसंस्थाले चिन्ता व्यक्त गरेका छन्। चाडपर्वको समयमा अत्यावश्यक तथा उपभोग्य वस्तुको माग बढ्ने भएकाले आयात तथा ढुवानी व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने उनीहरूको सुझाव छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...