आज्ञा खबर
जनकपुरधाम
सिरहाको गोलबजारमा गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवारसँग सरकारले आठ बुँदे सहमति गरेको छ। गृहमन्त्री सुधन गुरुङले पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी सहमतिमा पुगेको जानकारी दिएका हुन्।
लहानमा जिल्ला सुरक्षा समितिको बैठक सम्पन्न गरेपछि शुक्रबार राति गृहमन्त्री गुरुङ सिरहाको औरही गाउँपालिका–तुलसीयाहीस्थित मृतक यादवको घर पुगेका थिए। त्यहाँ उनले परिवारका सदस्यसँग छलफल गर्दै उनीहरूले उठाएका माग सम्बोधन गर्ने विषयमा सहमति भएको बताए।
सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइने तथा परिवारका एक सदस्यको शिक्षाको सम्पूर्ण व्यवस्था निःशुल्क गरिनेछ। साथै मृतकका बाबुआमाको निःशुल्क उपचारको व्यवस्था गर्ने र परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने विषयमा पनि सरकार सहमत भएको गृहमन्त्रीले जानकारी दिए।
गृहमन्त्री गुरुङले घटनाको अनुसन्धानमा कुनै प्रकारको लापरवाही हुन नदिने र दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे।
सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन भइरहेका बेला साउन १४ गते प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। त्यसयता उक्त घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन हुँदै आएको छ।
