आज्ञा खबर
जनकपुरधाम
पछिल्ला केही दिनदेखि विभिन्न घटनाका कारण प्रभावित बनेको मधेस प्रदेशको जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ। सुरक्षा व्यवस्थामा सुधार, प्रशासनको सक्रियता तथा स्थानीय समुदायबीचको समन्वयपछि अधिकांश जिल्लामा दैनिक गतिविधि पुनः सञ्चालन हुन थालेका हुन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा डिजे बजाउने विषयलाई लिएर उत्पन्न विवादपछि दुई युवाको गोली लागेर मृत्यु भएको घटनाले मधेसका विभिन्न जिल्लामा तनाव सिर्जना गरेको थियो। त्यसको प्रभाव सिरहा, धनुषा, पर्सा लगायतका जिल्लासम्म पुगेको थियो।
तनावका कारण केही स्थानमा बजार बन्द, सवारी आवागमन प्रभावित तथा सार्वजनिक सेवा आंशिक रूपमा अवरुद्ध बनेका थिए। कतिपय जिल्लामा स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाउनुका साथै निषेधाज्ञा तथा कर्फ्युजस्ता व्यवस्था समेत लागू गरेको थियो।
हाल भने प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल तथा स्थानीय अगुवाहरूबीच निरन्तर समन्वय र संवादपछि अवस्था सुधारोन्मुख देखिएको छ। बजारहरू खुल्न थालेका छन्, यातायात सेवा क्रमशः सञ्चालनमा आएको छ भने सर्वसाधारण पनि दैनिक कामकाजमा फर्किन थालेका छन्।
सुरक्षा निकायले अझै पनि संवेदनशील क्षेत्रहरूमा निगरानी कायम राखेको जनाएको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सामाजिक सद्भाव कायम राख्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति र संयम अपनाउन सबै पक्षसँग आग्रह गरेका छन्।
