आज्ञा खबर
महोत्तरी
सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा महोत्तरीका दुई प्रमुख बजार शुक्रबार बन्द गरिएका छन्। सदरमुकाम जलेश्वर र जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशालामा प्रदर्शनसँगै बजार, व्यवसाय तथा यातायात सेवा प्रभावित भएको हो।
जलेश्वरका विभिन्न चोकमा प्रदर्शनकारीहरूले टायर बालेर विरोध जनाएका थिए। प्रदर्शनका कारण बजार क्षेत्रका अधिकांश पसल तथा व्यवसाय बन्द रहे भने सडकमा सवारीसाधनको आवागमनसमेत ठप्पजस्तै बनेको थियो। बजार बन्द भएपछि जलेश्वरको जनजीवन प्रभावित भएको छ भने मुख्य बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल निकै न्यून देखिएको छ।
गौशाला बजारमा पनि हिन्दुवादी संघ–संगठनका अगुवाहरूले विरोध प्रदर्शन गर्दै व्यवसाय बन्द गराएका छन्। प्रदर्शनका कारण गौशालाको व्यापारिक गतिविधि प्रभावित भए पनि जिल्लाको समग्र सुरक्षा अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार जिल्लाका केही स्थानमा छिटफुट प्रदर्शन भए पनि अवस्था नियन्त्रणमै रहेको छ। सम्भावित घटना तथा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको उनले बताए।
यसैबीच, जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लावासीलाई शान्ति तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। प्रशासनले धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक एकता कायम राख्दै कुनै पनि अफवाह, बाह्य प्रभाव तथा उत्तेजनात्मक गतिविधिको पछि नलाग्न आग्रह गरेको हो।
प्रशासनले महोत्तरी लामो समयदेखि धार्मिक सहिष्णुता र सामाजिक सद्भावको उदाहरणका रूपमा परिचित रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सबै पक्षले संयम र जिम्मेवारी प्रदर्शन गर्नुपर्नेमा जोड दिएको छ।
प्रशासनले कुनै पनि घटनालाई लिएर उत्तेजित नहुन, अफवाहमा विश्वास नगर्न तथा कानुनको पालना गर्दै सामाजिक शान्ति र सद्भाव कायम राख्न सम्पूर्ण जिल्लावासीसँग अपिल गरेको छ।
