आज्ञा खबर
जनकपुरधाम
सडक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन सडक डिभिजन कार्यालय जनकपुरले सम्बन्धित व्यक्ति तथा संरचनाधनीलाई ३५ दिनको समय दिएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सडक क्षेत्र खाली नगरे कानुनी प्रक्रियामार्फत अतिक्रमित संरचना हटाउने जनाएको हो।
सडक डिभिजन कार्यालय जनकपुरका अनुसार माइस्थान–गौशाला–सम्सी सडकखण्ड र बर्दिबास–जलेश्वर सडकखण्डमा सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थानमा विभिन्न किसिमका अतिक्रमण भएको पाइएको छ। सडकको नियमित सञ्चालन तथा सार्वजनिक आवागमनमा असर पुग्ने गरी सडक क्षेत्र मिचेर निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरिएको कार्यालयले जनाएको छ।
साउन १४ गते जारी गरिएको सूचनामा माइस्थान–गौशाला–सम्सी सडकको चेन ०+००० देखि २६+९४० सम्म तथा बर्दिबास–जलेश्वर सडकको चेन ०+००० देखि ४२+००० सम्मको सडकखण्डलाई समेटिएको छ।
कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ विपरीत सडक क्षेत्रमा निर्माण गरिएका तथा सडकको क्षेत्राधिकारमा पर्ने अतिक्रमित संरचना तोकिएको समयभित्र आफैँ हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
तोकिएको ३५ दिनको अवधिमा अतिक्रमण नहटाए सडक डिभिजन कार्यालयले कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउँदै डोजर प्रयोग गरी संरचना हटाउने चेतावनी दिएको छ।
सडक क्षेत्रमा वर्षौंदेखि भएका अतिक्रमणका कारण सडक विस्तार, मर्मत तथा यातायात व्यवस्थापनमा समस्या हुँदै आएको अवस्थामा डिभिजन कार्यालयको पछिल्लो सूचनालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
