आज्ञा खबर
जनकपुरधाम
मधेस प्रदेशमा गुणस्तरहीन तथा मापदण्डविपरीत खाद्य वस्तु उत्पादन र बिक्री–वितरण गरेको आरोपमा ६२ उद्योगी तथा व्यवसायीविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का क्रममा विभिन्न उद्योग तथा व्यवसायबाट संकलन गरिएका खाद्य नमुनाको प्रयोगशाला परीक्षण गर्दा गुणस्तरमा कमी तथा कानुनविपरीत अवस्था भेटिएपछि सम्बन्धित उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो।
कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिसकेको जनाएको छ।
कार्यालयका अनुसार बजारमा सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको उपलब्धता सुनिश्चित गर्न नियमित अनुगमन, नमुना संकलन र प्रयोगशाला परीक्षणलाई निरन्तरता दिइएको छ। परीक्षणमा मापदण्ड पूरा नगर्ने उद्योग तथा व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने पनि कार्यालयले स्पष्ट पारेको छ।
