आज्ञा खबर
सप्तरी
सप्तकोशी नदीमा बहाव बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्यको तयारीका लागि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ ।
कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेको छ । ब्यारेजका २० वटा गेट खोलिएको छ । कोशीमा जलप्रवाह प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पुगेपछि उच्च सतर्कताका लागि रातो बत्ती बाल्ने गरिन्छ ।
अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा रहेको बताए । उनले विपद् व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको तथा आवश्यक कार्यविधि समेत तयार गरिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले कोशी ब्यारेज पुल तथा कमजोर तटबन्धको मर्मत गरिएको जानकारी दिँदै बाढीका कारण कटान वा तटबन्धमा क्षति भएमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल तयारी अवस्थामा रहेको बताए ।
अनुगमनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशव कुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरेसहित सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।
