गोली प्रहारसहित डकैती प्रकरण : महोत्तरीमा तीन अभियुक्त पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते भएको गोली प्रहारसहितको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ निवासी २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक तथा गौशाला नगरपालिका–५ निवासी क्रिश कुमार मेस्तर रहेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले सोमबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो।

प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार पक्राउ परेका व्यक्तिहरूको समूहले स्थानीय रामविश्वास यादवको घरमा राति प्रवेश गरी डकैती गर्ने क्रममा गोली चलाएको थियो। घटनामा घरमा सुतिरहेका किरण यादवको खुट्टामा दुई र उनका श्रीमान् ईश्वरनारायण यादवको दाहिने हातमा एक गोली लागेको थियो।

घटनापछि घाइते दम्पतीको उपचार गरिएको र दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा अन्य केही व्यक्तिको पनि संलग्नता रहेको आशंका गरिएको छ। फरार रहेका अभियुक्तहरूको खोजी तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...