आज्ञा खबर
बर्दिवास
मिटरब्याजपीडितहरूले न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौंतर्फ थालेको ‘न्याय मार्च’ चौथो दिन सर्लाहीको हरिवन पुगेको छ। लगातार चार दिनदेखि पैदल यात्रा गरिरहेका पीडितहरू आज बिहान लालबन्दीबाट हिँड्दै हरिवन आइपुगेका हुन्।
यात्रामा सहभागीहरूका अनुसार उनीहरूले आइतबार महोत्तरीको बर्दिबासस्थित पञ्चधुरा माइथानबाट करिब २६ किलोमिटर दूरी पार गरी लालबन्दीमा रात बिताएका थिए। आज बिहान ७ बजेदेखि पुनः यात्रा सुरु गरिएको हो।
चार दिनअघि जनकपुरधामको तिरहुतियागाछीबाट फर्जी तमसुक जलाएर सुरु गरिएको न्याय मार्चमा देशभरका ४५ जिल्लाका चार सयभन्दा बढी मिटरब्याजपीडित सहभागी छन्। आन्दोलनकारीहरूले सरकारसँग आफूहरूको मागप्रति चाँडो सुनुवाइ गर्न आग्रह गर्दै राजधानीसम्म पैदल यात्रा जारी राखेका छन्।
लामो दूरी पैदल हिँड्नुपरेकाले अधिकांश सहभागीका खुट्टामा फोका र ठेला उठ्न थालेका छन्। शारीरिक पीडा भए पनि आन्दोलनलाई निष्कर्षमा पुर्याउने अठोटका साथ यात्रा जारी राखिएको उनीहरूको भनाइ छ। हरिवनमा केहीबेर विश्राम गरी चिउरा र आँप खाएपछि टोली पुनः काठमाडौंतर्फ अघि बढेको छ।
आन्दोलनमा सहभागीहरूले जनकपुरधाममा प्रधानमन्त्री बालेन्द्र साहले मिटरब्याजपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै पद सम्हालेको सय दिन बितिसक्दा पनि त्यसअनुसार ठोस पहल नभएको आरोप लगाएका छन्।
न्याय मार्च हरिवन पुगेपछि हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। उनले केही दूरीसम्म आन्दोलनकारीसँगै पैदल यात्रा गर्नुका साथै नाराबाजीमा पनि सहभागिता जनाएका थिए।
मिटरब्याजपीडितहरूले फर्जी तमसुकको प्रचलन अन्त्य गर्न, मिटरब्याजसम्बन्धी विशेष कानुन निर्माण गर्न, अनुचित रूपमा गुमेको चल–अचल सम्पत्ति फिर्ता गराउन तथा पीडितलाई प्रभावकारी न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
आन्दोलनकारीहरूको लक्ष्य साउनको दोस्रो साताभित्र काठमाडौं पुगेर सरकारलाई आफ्ना माग औपचारिक रूपमा बुझाउने रहेको छ।
