आज्ञा खबर
बर्दिवास
बजारमा किनमेल गर्दा उपभोक्ताले तिरेको मूल्यअनुसार वस्तु प्राप्त गरिरहेको छ कि छैन ? व्यापारीले बिक्री गरेको वस्तुको सही तौल र मापन गरिरहेको छ कि छैन ? यी प्रश्नहरू केवल व्यापारिक व्यवहारसँग मात्र सम्बन्धित छैनन्, उपभोक्ताको अधिकार, व्यवसायिक नैतिकता र बजार व्यवस्थापनसँग पनि प्रत्यक्ष रूपमा जोडिएका छन्। यिनै विषयमा जनचेतना अभिवृद्धि गर्न महोत्तरीको बर्दिवासमा नापतौल सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरीएको छ।
बर्दिवास उद्योग वाणिज्य संघको सहकार्य तथा समन्वयमा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले बर्दिवासमा आयोजना गरेको कार्यक्रमले उपभोक्ताको अधिकार संरक्षण, सही मापन प्रणालीको महत्व तथा व्यवसायिक अनुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिएको छ।
नापतौल : व्यापारको मेरुदण्ड
कुनै पनि व्यापारिक कारोबारको आधार विश्वास हो। त्यो विश्वास कायम राख्न सही नापतौल अत्यन्त आवश्यक हुन्छ। बजारमा दैनिक रूपमा किनबेच हुने खाद्यान्न, निर्माण सामग्री, पेट्रोलियम पदार्थ, फलफूल, तरकारीदेखि सुनचाँदीसम्मका वस्तुहरूको कारोबार नापतौलकै आधारमा हुने गर्दछ।
कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामका कार्यालय प्रमुख सुनिलकुमार यादवले नापतौलको वैज्ञानिक आधार र यसको व्यवहारिक प्रयोगबारे स्थानीय व्यवसायी, उद्योगी, सञ्चारकर्मी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरुलाई
विस्तृत जानकारी गराएका थिए। उनले सही मापनले उपभोक्ता र व्यापारी दुवैलाई संरक्षण गर्ने बताउँदै गलत नापतौलले आर्थिक क्षति मात्र होइन, सामाजिक अविश्वास पनि सिर्जना गर्ने उल्लेख गरे।
उनका अनुसार उपभोक्ताले खरिद गरेको वस्तु तोकिएको तौलभन्दा कम प्राप्त गरेमा प्रत्यक्ष रूपमा आर्थिक नोक्सानी व्यहोर्नुपर्छ भने व्यापारीमा पनि अविश्वासको वातावरण सिर्जना हुने हुँदा दीर्घकालीन रूपमा व्यवसायिक क्षति बेहोर्नुपर्ने अवस्था आउँने बताए।
आधुनिक उपकरणको प्रयोग र नियमित परीक्षणको आवश्यकता
कार्यक्रममा डिजिटल तराजु, धर्मकाँटा तथा अन्य नापतौल उपकरणहरूको प्रयोग, परीक्षण तथा प्रमाणीकरण प्रक्रियाबारे जानकारी दिइएको थियो। कार्यालय प्रमुख यादवले बजारमा प्रयोग भइरहेका नापतौल उपकरणहरूको नियमित परीक्षण गराउनुपर्ने आवश्यकता औँल्याए।
उनले गुणस्तर तथा नापतौल कार्यालयबाट प्रमाणित भएका उपकरणहरूमा टाँचा, स्टिकर तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिँदै यस्ता प्रमाणित उपकरणको प्रयोगले कारोबारलाई विश्वसनीय बनाउने बताए।
विशेषगरी डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान अवस्थामा आधुनिक उपकरणहरूको नियमित जाँच तथा प्रमाणीकरण नगरेमा त्रुटि हुन सक्ने भएकाले समय–समयमा परीक्षण गराउनुपर्ने उनको भनाइ थियो।
प्रतिबन्धित साधनप्रति सचेत रहन आग्रह
कार्यक्रमको महत्वपूर्ण पक्ष परम्परागत तथा कपटपूर्ण नापतौलका साधनबारे जानकारी गराउनु पनि थियो। यादवले ढुंगाको ढक, बाँसको तराजुजस्ता साधनहरूको प्रयोग कानुनतः निषेध गरिएको जानकारी दिए।
यस्ता उपकरणहरू वैज्ञानिक रूपमा प्रमाणित नहुने भएकाले सही नतिजा नदिने र उपभोक्ता तथा व्यापारी दुवैलाई नोक्सानी पुग्ने उनले बताए। अझ कतिपय अवस्थामा यस्ता साधनहरूको प्रयोग जानाजान ठगी गर्ने उद्देश्यले समेत हुने भएकाले राज्यले तिनको प्रयोगमा रोक लगाएको छ।
उनले प्रतिबन्धित उपकरण प्रयोग नगर्न, प्रमाणित उपकरण मात्रै प्रयोग गर्न तथा कुनै प्रकारको अनियमितता देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरे।
उपभोक्ता अधिकार संरक्षणको आधार
नेपालको संविधानले उपभोक्ताको अधिकारलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। सही मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार उपभोक्ताको नैसर्गिक अधिकार हो। तर व्यवहारमा अझै पनि कतिपय स्थानमा गलत नापतौल, गुणस्तरहीन सामग्री तथा ठगीका घटना देखिने गरेका छन्।
यस्ता समस्यालाई न्यूनीकरण गर्न जनचेतना सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ। बर्दिवासमा आयोजित कार्यक्रमले उपभोक्तालाई आफ्नो अधिकारप्रति सजग बनाउने तथा व्यवसायीलाई कानुनी दायित्वबारे जानकारी गराउने काम गरेको सहभागीहरूले बताएका छन्।
स्थानीय व्यवसायीहरूले समेत सही नापतौल प्रणालीले बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए। उनीहरूका अनुसार केही व्यक्तिको गलत अभ्यासका कारण सम्पूर्ण व्यवसायिक समुदायमाथि अविश्वास पैदा हुने भएकाले सबैले कानुनअनुसार काम गर्न आवश्यक छ।
व्यवस्थित बजार निर्माणतर्फको कदम
बर्दिवास पछिल्लो समय तीव्र रूपमा विकसित हुँदै गएको व्यापारिक केन्द्र हो। पूर्व–पश्चिम राजमार्ग तथा मधेश प्रदेशका विभिन्न जिल्लासँगको सहज पहुँचका कारण यहाँ दैनिक ठूलो परिमाणमा व्यापारिक गतिविधि सञ्चालन हुने गरेको छ।
यस्तो अवस्थामा यहाँको बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन नापतौल सम्बन्धी सचेतना कार्यक्रमहरूको महत्व अझ बढी देखिन्छ। सही नापतौलको अभ्यासले बजारमा विश्वास बढाउनुका साथै व्यवसायिक वातावरणलाई स्वस्थ र प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउँछ।
कार्यक्रममा सहभागीहरूले यस्ता जनचेतनामूलक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूको विश्वास छ, उपभोक्ता र व्यवसायी दुवै पक्ष सचेत भएमा मात्र निष्पक्ष र पारदर्शी बजार व्यवस्था निर्माण गर्न सकिन्छ।
