आज्ञा खबर
बर्दिवास
विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर महोत्तरीको बर्दिवासस्थित प्रमुख होटलहरूमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विशेष अनुगमन गरिएको छ। होटल तथा पर्यटन व्यवसायी संघ, महोत्तरीको सहकार्यमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जलेश्वरको संयुक्त टोलीले अनुगमन तथा प्राविधिक परीक्षण गरेको हो।
“सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको अभियान अन्तर्गत बर्दिवासका नाव्या होटल, रेडक्राउन होटल, गौतम होटल, विनायक होटल, बर्दिवास रिसोर्ट तथा होटल गुञ्जमा भान्छा, खाद्य भण्डारण कक्ष र उपभोक्तालाई प्रदान गरिने खाद्य सामग्रीको प्रत्यक्ष निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा होटलहरूको सरसफाइ अवस्था, खाद्य सामग्रीको गुणस्तर, भण्डारण प्रक्रिया तथा खाद्य सुरक्षासम्बन्धी मापदण्डको पालना भए–नभएको विषयमा प्राविधिक परीक्षण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
खाद्य निरीक्षण अधिकारी आकाश काफ्लेका अनुसार उपभोक्तालाई खाद्यजन्य रोगको जोखिमबाट जोगाउन र बजारमा स्वच्छ तथा सुरक्षित खाद्य वातावरण कायम गर्न यस्ता अनुगमनलाई तीव्रता दिइएको हो।
अनुगमन टोलीले आधुनिक प्रविधियुक्त मोबाइल प्रयोगशालासहित होटलमै पुगेर खाद्य सामग्रीको तत्काल परीक्षण गरेको थियो। मोबाइल ल्याबमार्फत गरिएको परीक्षणको नतिजा व्यवसायीलाई तत्काल उपलब्ध गराइएको अधिकारी काफ्लेले बताए।
“हामीले होटलमा प्रयोग भइरहेका खाद्य सामग्रीको स्थलमै परीक्षण गरेर व्यवसायीलाई नतिजा बुझाएका छौँ,” उनले भने, “यसले व्यवसायीलाई आफ्ना कमजोरी पहिचान गरी तत्काल सुधार गर्न र उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्छ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जलेश्वरका प्रमुख विक्की राउतका अनुसार अनुगमन गरिएका अधिकांश होटलहरू खाद्य स्वच्छता र सुरक्षाप्रति सचेत तथा जिम्मेवार देखिएका छन्। यद्यपि केही होटलहरूमा सामान्य प्राविधिक कमजोरी भेटिएकाले तत्काल सुधार गर्न निर्देशन दिँदै सचेत गराइएको उनले जानकारी दिए।
कार्यालयले महोत्तरी जिल्लाभर चरणबद्ध रूपमा खाद्य उत्पादन, प्रशोधन तथा बिक्री–वितरण केन्द्रहरूमा अनुगमनलाई निरन्तरता दिँदै खाद्य स्वच्छता कायम गर्ने जनाएको छ।
यसैबीच होटल तथा पर्यटन व्यवसायी संघ, महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षाप्रति स्थानीय व्यवसायीहरू गम्भीर रहेको बताए। खाद्य सुरक्षा र उपभोक्ता अधिकार सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले यस्ता अभियानले बर्दिवासको आतिथ्यता क्षेत्रको विश्वसनीयता र खाद्य गुणस्तरलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
“आम उपभोक्ताको खाद्य सुरक्षा र अधिकार सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो,” अध्यक्ष कार्कीले भने, “यस अभियानले बर्दिवासका होटल तथा रेष्टुरेन्टप्रति उपभोक्ताको विश्वास अझ बढाउनेछ। यहाँका होटलहरूमा उपलब्ध खाद्य परिकारहरू ढुक्क भएर उपभोग गर्न हामी सबैलाई आग्रह गर्दछौँ।”






