६० प्रतिशत अनुदानमा मल्चिङ्ग प्लाष्टिक वितरण, बर्दिवासका कृषक लाभान्वित

[sharethis-inline-buttons]

 

आज्ञा खबर
बर्दिवास, महोत्तरी

बर्दिवास नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत ६० प्रतिशत अनुदानमा कृषक तथा कृषि संस्थाहरूलाई मल्चिङ्ग प्लाष्टिक वितरण गरेको छ। कृषि तथा पशुसेवा शाखाको नयाँ भवनमा शनिबार आयोजित कार्यक्रममा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री, उपप्रमुख तारादेवी महतो तथा प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले संयुक्त रूपमा लाभग्राही किसानहरूलाई मल्चिङ्ग प्लाष्टिक हस्तान्तरण गरेका हुँन ।

कार्यक्रममा नगरपालिकाले आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै उत्पादन लागत न्यूनीकरण र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

नगरपालिकाको कृषि तथा पशुसेवा शाखाले कृषि सम्बन्धी मेशिनरी, औजार तथा उपकरण वितरण सम्बन्धी कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार प्रकाशित सूचनाका आधारमा प्राप्त आवेदनहरूको मूल्यांकन गरी लाभग्राही छनोट गरेको हो। बर्दिवास नगरपालिकाको मिति २०८३ जेठ १८ गते बसेको मूल्यांकन समितिको बैठकको निर्णयअनुसार छनोट भएका कृषक, कृषक समूह, कृषि फर्म तथा सहकारी संस्थालाई मल्चिङ्ग प्लाष्टिक वितरण गरिएको नगरपालिकाले जनाएको छ।

छनोट सूचीअनुसार चार वटा कृषक समूह तथा कृषि सहकारी संस्थालाई जम्मा १ सय६ रोल मल्चिङ्ग प्लाष्टिक उपलब्ध गराइएको छ। जसअन्तर्गत हरिवानी वडा स्तरीय कृषि सहकारी संस्था लिमिटेड (वडा नं. ५) लाई २३ रोल, वरडाँडा महिला कृषक समूह (वडा नं. ५) लाई ४० रोल, ज्योति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड (वडा नं. ११) लाई ४ ७ रोल तथा प्रगति कृषि सहकारी संस्था लिमिटेड (वडा नं. १०) लाई ३ रोल मल्चिङ्ग प्लाष्टिक प्रदान गरिएको छ।

त्यसैगरी व्यक्तिगत कृषकतर्फ छनोटमा परेका आठ जना कृषक तथा कृषि फर्मलाई आवश्यकताअनुसार १ देखि ३ रोलसम्म मल्चिङ्ग प्लाष्टिक वितरण गरिएको कृषि तथा पशुसेवा शाखाले जनाएको छ।

मल्चिङ्ग प्लाष्टिकको प्रयोगबाट जमिनको चिस्यान संरक्षण, झारपात नियन्त्रण तथा उत्पादन वृद्धि हुने भएकाले कृषकहरूलाई यस प्रविधि अपनाउन प्रोत्साहित गरिएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले आगामी दिनमा पनि कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यावसायीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...